‘पिर’ अघि सपुतसँगको सफर

विश्वास खड्काथोकी
  ६ चैत्र २०७८, आईतवार १७:२२

काठमाडौं : प्रकाश सपुतले आफ्नो आरनमा टुकटुक पारेको पिरले अहिले एउटा मुद्दामा जबरजस्त पुनः बहस सतहमा छ । करिब करिब हराएको वा वास्ता नगरिएको वा गुमनाम पार्न खोजिएको पूर्व लडाकुका मुद्दा सामाजिक सञ्जाल, चिया पसलबाट माथि मिडिया र राजनीतिक बहसमा परिणत भएका छन् । आफ्ना गीतका मुख्य दुई पात्र बायु र उर्जालाइ प्रकाशले अयोग्य पूर्व माओवादी लडाकु र वर्तमान अवस्थामा उनीहरुले भोग्नुपरेको विवशतालाई कारुणिक चित्रण गरेका छन् । शंकै छैन करुण रस प्रकाशका सिर्जनाका एक ‘स्ट्रेन्थ’ हो ।

‘यो छोटो विश्रामपछि पुनः स्वागत छ । दर्शक बृन्द, तत्कालीन नेकपा माओवादीको नेतृत्वमा नेपालमा १० वर्षीय सशस्त्र युद्ध भयो । जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लगायतका ऐतिहासिक परिवर्तन भए । तर, व्यवस्था बदलिए पनि परिवर्तनका लागि लड्ने योद्धा र आम नागरिकको अवस्थामा भने अपेक्षित परिवर्तन आउन सकेन । बरु व्यवस्था बदलिएसँगै देश बदल्न संसद र सरकारमा गएकाहरु आफै बदलिए । र, १० वर्षे युद्धको नेतृत्व गरेकाहरु विभिन्न स्वार्थ र विचारमा विभाजित भए । आज नेकपा माओवादी त्यो बेलाको माओवादी रहेन ।’

बागलुङका रेडियोमा सम्पादकीय नेतृत्व सम्हालेका दिल शिरीष काठमाडौं आएर प्रकाश सपुतको ‘आरन टेलिभिजन’ मा समाचार वाचन गर्छन् । अनि शुरु हुन्छ तीन अयोग्य पूर्व माओवादी लडाकुको चरम संघर्ष र शान्ति प्रक्रियामा आए लगत्तै सत्ता र भत्ताको स्वादमा चुर्लुम्म डुबेर सिद्धान्तच्यूत भएका भावशुन्य प्रतिनिधि नेतृत्वको तितो यथार्थ– ‘पिर’ । यसर्थ कतिपयलाई पिर सिर्जना नभएर कपोकल्पित टेलिभिजन रिपोर्ट जस्तो पो लाग्यो कि ! नत्र गीतलाई युट्युबबाटै हटाउनुपर्छ भनेर पाखुरा सुर्कने थिएनन् ।

प्रकाश सपुत नेपाली संगीत क्षेत्रमा ‘भाइब्रेन्टली नोटिस’ भएको पाँच वर्ष भयो । उनी सिर्जनाको सिढी चढ्दै दोहोरी ब्याटलबाट ‘पिर’ सम्म आइपुगेका छन् । पछिल्लो चार वर्षमा उनले विश्वास दिलाएका छन् की आफ्नो गीत सँगै उनी कुनै न कुनै मुद्दा लिएर आउँछन्, कुनै न कुनै कथा बोकेर आउँछन्, कुनै न कुनै एब्स्ट्रयाक्ट चिन्तन सहित छाउँछन् र जरुर कुनै न कुनै सिर्जनात्मक प्रयोग गर्छन् । चाहे त्यो अडियोमा होस् या भिडियोमा । श्रोताबाट ‘भर्सटायल’ कलाकारको सिग्नेचर बोकेका प्रकाशलाई मैले म्युजिकल स्टोरी टेलरको रुपमा बुझ्छु । पक्कै पनि सपुतले ‘पिर’ मार्फत युद्वदेखि अहिलेसम्मको कथा नदेखाएको भए यो तहमा राजनीतिक बहस सम्भव थिएन । उनको पछिल्लो सिर्जना ‘पिर’मा थप प्रवेश गर्नुअघि केहि छिन उनीसँगको स्मृतिमा डुबुल्की मार्ने अनुमति माग्छु ।

त्यो किनभने हामी एउटै गाउँ, टोल, समाजमा हुर्कियौँ, उस्तै परिस्थितिसँग जुध्यौँ, एउटै जंगलमा घाँस दाउरा काट्यौँ, एउटै स्कुलमा पढ्यौँ । अहिले परिस्थिति फरक छ उनी गाउँदै छन् म लेख्दै छु ।

धेरै पछि, एक वर्ष अघि प्रकाश सपुतसँग काठमाडौं–पोखरा यात्राको संयोग जुरेको थियो । कलंकीबाट शुरु भएको हाम्रो सफरको ड्राइभ भाइ सुनिलले गरेका थिए । भाइ चुपचाप बाटो छिचोलिरहेका थिए, हामी विगतमा पस्न शुरु गरेका थियौँ, वर्तमान र भविष्यबारे मन्थन गर्दै थियौँ ।

कोभिडको पहिलो भेरियन्टले आक्रान्त पारेको मुलुकले नयाँ बाटो पहिल्याउने तरखरमा थियो र राजनीतिक भेरियन्टले आक्रान्त थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेका थिए । नेकपा पार्टी विभाजनको संघारमा थियो । ओली प्रतिगमनको मतियारको रुपमा सर्वाधिक आलोचित बनेका थिए । सत्तारुढ दल नै ओली विरुद्ध सडकमा चर्को आन्दोलनमा गरिरहेका थिए । देश अन्योलग्रस्त अवस्थामा खडा भएको थियो ।

नागढुंगाको ओरालो लाग्दै गर्दा प्रकाशले भनेका थिए–‘राजनीतिक नेतृत्व स्वार्थ लिप्त, व्यक्ति केन्द्रित र वास्तवमै फोहोरी खेल हो भन्ने कुरा त जनताले बुझ्ने तहमा छरपस्ट देखियो नि होइन र ? साँच्चिकै आजको राजनीति विचारबाट परिचालित छ त ? प्रकाशले प्रश्न र उत्तरसँगै दिएका थिए । मैले मात्र सहमति जनाए । के उनले राजनीतिक मुद्दामा त्यतिबेलैबाट सिर्जना त बुन्दै थिएनन् ! खैर नैतिकहीन राजनीति र नेतृत्वको अकर्मन्यताले प्रकाशको कमलो मुटु, कमलो छाती चिरदिएको थियो । कुनै बलियो सिर्जना बाहिर आउनका लागि त्यस विषयले सर्जकमा हलचल मच्चाउनुपर्छ, बलियो गरि छुनुपर्छ । यो कुरा प्रकाशलाई राम्रोसँग अवगत छ ।

रात ढल्किदै थियो, सुनिलले झन् बलियो गरि स्कुलेटर दाब्दै थिए । हामी लेखन र गायनमाथि समिक्षा गर्दै थियौँ । म प्रकाश तर्फ फर्किएँ, ‘सिर्जनाले तपाइलाई स्रोता, दर्शक माझ लोकप्रिय बनाएको छ । छोटो समयमै सफलताको उचाइमा पुगे जस्तो लाग्दैन ?’

‘काठमाडौं छिरेको १० वर्ष भयो । थाहा छैन यो १० वर्षलाई तपाइँले छोटो रुपमा बुझ्नुहुन्छ या लामो । छोटो त पक्कै होइन होला’, उनको जवाफ सटिक थियो ।

प्रकाश सपुत त्यतिबेला भर्खर ‘मेरो पनि होइन र यो देश’ गीतको पोस्टर सार्वजनिक गरेर बागलुङतर्फ लागेका थिए । उनले त्यस गीतबारे कन्सेप्ट सेयर गर्दै जिज्ञासा राखे–‘मेरा गीत मध्ये सबै भन्दा शक्तिशाली सिर्जना कुन लाग्छ विश्वास जि ?

मैले एकछिन पनि नसाँची जवाफ दिए–‘बोल माया’ । एउटा सिर्जनाका लागि तपाई आफ्नै घरको आँगनमा रातो कफनमा नाकमा कपास कोचेर लाश भएर लम्पसार पर्नसम्म पछि पर्नु भएन । आफ्नो सिर्जनालाई न्याय गर्नका लागि कमै कलाकार मात्र यो हदसम्म पुग्न सक्छन् । ‘बोल माया’ले तपाइँलाई संगीतमा नयाँ उचाइ र परिचय पनि दियो नि होइन र ?

उनले टाउको हल्लाए–‘मलाई पनि त्यस्तै लाग्छ ।’

संगीतले तपाइलाई कमै कलाकारहरुलाई प्राप्त हुने प्रतिष्ठा, पैसा, परिचय मात्र होइन, स्टारडमकै अनुभुति दियो । कहिलेकाहीँ आफैलाई अचम्म लाग्दैन ? कि ओ हो ! म कहाँबाट कहाँ आइपुगेँ ? आफैलाई चिमोट्नु परेको त छैन ?

त्यसरी सोंचेको छैन । तर, मानिस जहाँ पुग्छ परिस्थितिले त्यही अनुकुलकोे वातावरण निर्धारण गर्दो रहेछ, त्यसैमा अभ्यस्त भइदो रहेछ । र, सब चिज उस्तै उस्तै लाग्न थाल्दा रहेछन् । बरु कहिलेकाँही लाग्छ कि म कलाकार भएर आफू मात्र बने । मेरो समाज, मेरा वरिपरिका मानिसहरु जहाँको त्यहीँ छन् । म एक्लै भएको परिवर्तन ले के अर्थ राख्छ र ! म राजनीति वा अरु कुनै क्षत्रमा भएको भए आफुसँगै अरुलाई पनि परिवर्तन गर्न सक्थेँ की !

भने पछि तपाइको म्युजिकल जर्नी अपेक्षित नै हो ।

जतिबेला म कलाकारितामा संघर्षरत थिएँ, ममा चर्चाको भोक थियो । जसरीहरु मानिसहरु बिच चिनिनु थियो । ‘बोल माया’ पछि त्यसको भूत उत्रिसकेको छ । अब मलाई चर्चा पुग्यो, अब संगीतमा योगदान गर्नु छ, हाम्रो समाज र संगीतलाई जोड्नु छ । संगीतमार्फत आफ्नै जीवनमा रङहरु भरेर बाँच्नु छ । ए साँच्ची हाम्रो गाउँलाई तपाइँ हामी प्रति गर्व होला कि नहोला ?

प्रकाशले त्यो रात गाउँ प्रति अथाहा माया दर्शाएका थिए । पक्कै पनि आफू जन्मिएको ठाउँबाट चाहेर पनि मानिस बाहेक हुन सक्दैन । किन भने घर मात्र होइन, त्यहाँका मानिस, ढुंगा, माटो, बोट–विरुवा, सिंगो गाउँको सुगन्धका सम्बन्धहरु उसमा अमित भएर बसेको हुन्छ । मैले भने, ‘हामी प्रति गर्व गर्छ या गर्दैन त्यो मेरो समाजको चेतनाले निर्धारण गर्छ । तर, मेरो गाउँको चेतना मेरो गाउँले मात्र पनि निर्धारण गर्दैन, यो देशको शासकले निर्धारण गर्छ ।’ जुन गाउँमा हामी गरिबी, अभाव र उत्पिडन भोगेर हुर्किएका थियौँ ।

रात मध्येतिर सर्दै थियो । हामी कुरिनटार पार गरेर मुग्लिङ तर्फ यात्रारत थियौँ । सडकमा सवारीको चाप अत्यन्तै न्यून थियो । मलाइ प्रकाशसँगको आत्मिक संवादले आल्हादित पारिरहेको थियो । मलाई थाहा छैन, उनले कस्तो अनुभुति गरिरहेका थिए । तर, उनले अचानक अनपेक्षित भावना शेयर गरे–‘धेरै पटक भीडमा भएर पनि मैले एक्लो अनुभुति गरिरहेको हुन्छु । आफ्ना अनुभुति साट्ने ठाउँ खोजिरहेको हुन्छु । मलाई नेपाली साहित्य र बौद्धिक सिकाइमा रुची छ ।’ व्यवसायीक दौरानमा जहाँ जहाँ गएँ, यस्तो माहौल विरलै मात्र भेटेँ ।’ सँधै फ्यात्र र शुभचिन्तकबाट घेरिने सपुतबाट मैले यस्तो अनुभुतिको अपेक्षा गरेका थिइन ।

प्रकाशले वर्तमान संगीतको अवस्थाबारे कुरा गर्दै थिए, मलाई भने उनलाई एक पटक फल्यास ब्याकमा पुर्याउन मन लाग्यो । तपाई त कुनै समय बागलुङको धौलागिरि एफएमको चर्चीत आरजे हो नी । अन्तरजातीय प्रेम सफल नहुदा भीरबाट हाम फालेर मृत्यूबरण गरेका जोडिमाथि तपाइले तयार पारेको रेडियो नाटक अझै पनि मेरो मानसपटलमा अमित छ ।

हई । त्यतिबेला बाँच्न चाही खुव गाह्रो भयो । तलव आयो की भनेर दशौ पटक सोध्न पुग्थे, तर, आएको हुँदैनथ्यो । अहिले सम्झदा त्यो जीवन पनि बडो रोमान्टिक लाग्छ ।

प्रकाश सपुत फर्निचरदेखि, दोहोरी साँझ, रेडियोमा संघर्ष गर्दै काठमाडौंसम्मको यात्रा तय गरेका थिए । काठमाडौंमा पनि पत्रकारको जागिर खोज्दै एकादुई रेडियोमा नदौडिएका पनि होइनन् । यद्यपी उनी संगीतमै होलटाइमर बने । अहिले आएर प्रकाशले आफुलाई एक कुशल गायक भन्दा पनि क्रिएटरको रुपमा स्वीकार्छन् ।

मुग्लिङ आइपुग्यो । मुग्लिङको पुल तरेर खाना खायौँ । अनि बाटो लाग्यौ । बाटोजस्तै थियो हाम्रो कुराकानीको यात्रा पनि । एउटा स्टारसँगको रात्री यात्रामा मभित्र पत्रकारिता जागेको थियो । त्यसैले मैले प्रश्नले घोचिरहेको थिए– लकडाउनले धेरै पछि लामो समय गाऊँ(घर) बस्ने अवसर जुर्यायो है ?

हो, एक दुई दिन त रमाइलै अनुभुति गरेँ । लकडाउनले साँच्चिकै मेरो धरातल देखाइदियो । फेरि एक पटक आफ्नो परिचय दियो । समय यस्तो थियो की हर कुरा मेरो अनुकुल चल्थे । कार्यक्रम सेड्युल, बसाइ, उठाइ, सब कुच । थुप्रै व्यवसायीक र निजी योजनाहरुमा कुँदिरहेको थिएँ । साँच्चीकै म हावामा उडिरहेको थिए । तर, कलडाउनले मलाई शुन्यतामा झारिदियो । आफ्नै भविश्य अन्धकार देख्न थाले । करिव करिव डिप्रेस्डको अवस्थामा पुगेँ ।

लकडाउन प्रकाशका लागि जीवनको अध्यारो चियाउने आँखिझ्याल बनेको थियो । अर्को तरिकाले हेर्दा कठिन अवस्थासँग जुध्ने अर्को शक्ति पनि त प्रदान ग¥यो । जीवन कतिबेला अध्याँरो भासमा भनेर कसलाई पो थाहा हुन्छ र ! जीवनको परिक्रमा थोडा पृथ्वीले सूर्यलाई गर्ने परिक्रमा जस्तो हो र ?

लकडाउनको समय पनि प्रकाशले गाउँमै केही सर्ट फ्लिमहरु गरे । लकडाउनकै बिचमा नमस्ते गीत सार्वजनिक गरे । किनकि उनी काम बिना बस्न सक्ने होइनन् ।
पोखरा पुग्नै लाग्दा मैले प्रकाशलाई सोधको थिए–‘एउटै मानिसले गायन, संगीत, शब्द, निर्देशनको काम भ्याउने निकै गाह्रो कुरा होइन र ? मेला महोत्सवको व्यस्ता बिच तपाइँ यति धेरै मानिसले रुचाइएका सिर्जना दिइरहनुभएको छ । साँच्चिकै म तपाइको मेहेनेतबाट कायल छु ।’

उनी मुसुक्क हाँसे र, भने–‘म तपाइसँग बोलिरहेको छु । यहीँबाट पनि मैले गीतका केही सन्दर्भहरु लिन सक्छु । मेरा गीत मेरो मात्र अनुभुति होइनन्, मात्र मेरा सिर्जना होइनन् । म जहाँ पुग्छु त्यहाँ मेरो गीतको लागि विषयहरु खोजिरहेको हुन्छु । थुप्रै मानिसको अनुभुति र आइडियालाई मैल संग्रह गरर गीतको आकार दिन्छु । आजको टेक्नोलोजिले हामीलाई सजिलो बनाइदिएको छ । अहिले आएर हेर्दा गाउन बाँकी त के नै छ होला र ? सबै विषयमा गाइएका छन् । तर, हामीले केही फरक गर्न मात्र खोज्ने हो । चाहे त्यो बाजामा होस्, चाहे त्यो शैलीमा । मैले शब्दमा भन्न नसकेका कुराहरुलाई भिडियोबाट भन्छु । अब गीत सुन्ने मात्र होइन कि हेर्ने पनि भइसक्यो । यो प्रविधिको जतिसक्दो धेरै फाइदा उठाउनुपर्छ ।

विहानको दुई बजिसकेको थियो । प्रकाशले लेकसाइडको एउटा होटेलमा पु¥याए ।

प्रकाशको ‘पिर’ सार्वजनिक भएपछि मैले उनको अन्तिम लाइन निकै सम्झिरहेको छु । ‘पिर’ गीत सार्वजनिक भएपछि प्रकाश पनि चैनसँग बस्न पाएनन् । तीन/चार दिन सम्म उनको नम्बर स्विच अफ भयो । सार्वजनिक रुपमा कुनै वक्तव्य जारी गरेनन् । यही समय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाको एउटा स्टाटस आएको थियोे, ‘कलाकारलाई रुवाउनेलाई जीन्दगीभर विश्वास गर्दिन ।’

त्यति नै बेला प्रकाशले म्याजेन्जरको छोटो कुराकानीमा मसँग भनेका थिए – निकै डिस्टर्भ छु । पब्लीक्ली केही बोल्न सक्ने मनस्थितिमा छैन । त्यसको तेस्रो दिन फेसबुकमार्फत उनले आफ्नो धारणा व्यक्त गरेँ – कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् । प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस् ।

एउटा सर्जकले गरेको सृजनामाथि स्वस्थ बहस नभएर व्यक्तिमाथि सत्तो सराप गर्ने हामीले कस्तो संस्कृतिको विकास गरिरहेका छौँ ? आफ्नो स्वार्थ इतरको विचारलाई निषेधको कालो झण्डा उठाएर हामीले कस्तो लोकतन्त्रको परिकल्पना गरेका छौँ ? एउटा सर्जक आफ्नो सृजनामाथि ढुंगसँग बोल्न नसक्ने र भूमिगत हुनुपर्ने अवस्था क्रुर शासनकालमा मात्र सम्भव छ । राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य गरेरसंविधानत संघीय गणतान्त्रीक मुकुकमा प्रवेश गरे पनि हामी कतै पञ्चायती मानशिकताकै धङधङी मानशिकतामा त बाचिरहेका छैनौँ । क. माओले भनेका छन्– सयौँ फूललाई फुल्न दिने र विचारका सयौँ धारलाई प्रतिस्पर्धा गर्न दिने नीति भनेको कला र विज्ञान क्षेत्रको प्रगतिलाई प्रबद्र्धन गर्ने र समाजवादी संस्कृतिलाई फस्टाउन दिने नीति हो । कलाका विभिन्न रूप र शैलीले स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्न पाउनुपर्दछ ।’ यसको विपरित हामीले फुल फुल्न नदिई कोपिलामै निमोठ्न खोज्दैछौँ । दार्शनिक कार्ल माक्र्सको पुँजी सिरानीमा राखेर फेसबुकमा श्रष्टालाई सत्तोसराप गर्ने प्रबृत्ति त सुहाउँदै सुहाउँदैन ।

प्रकाश सपुतको पिर र उनको विवादित फुटेजको संयौँ कोणबाट विश्लेषण भइसकेका छन् । छ सेकेन्डको उक्त फुटेजलाई प्रकाशले पूर्व लडाकुले जीवन यापनको लागि पाएको दुःखको चरम रुप देखाउने अस्त्रको रुपमा प्रयोग गरेका छन् । देशको मुहार फेर्न युद्ध लडेकी कम्युनिष्ट घाइते योद्दा आफैले लडेर ल्याएको गणतान्त्रिक मुलुकमा परिवार पाल्नको लागि शरीर बेच्न बाध्य भएको दृष्य देख्दा दर्शकले आफैलाई सम्हाल्न सक्दैनन् । प्रकाश सपुतले भनिसकेका छन् कि वास्तविक पात्रमा आधारित रहेर ‘पिर’ सिर्जना भएको हो ।

प्रकाशले मायासँग जोडेर पूर्व अयोग्य घाइते लडाकुको व्यथा, अन्तरजातीय विवाहको यथार्थ, बैदेशिक रोजगारले निम्त्याएको शारीरिक र सामाजिक विश्रृंखलता, जनताप्रति राजनीतिक नेतृत्वको संवेदनाहीन चरित्रलाई चित्रण गर्न पक्कै पनि सहज थिएन । सामाजिक मुद्दा र व्यवसायिकतालाई सँगसँगै अगाडि बढाउने सिर्जना ल्याउने उनको सिर्जनशील चतुरता हो । यद्यपि उनले भिडियोमा माओवादी पार्टीलाई सांकेतिक ढंगबाट प्रस्तुत गरेको भए अझै बलियो हुन्थ्यो कि ?

गीत शुरु अघिको संवादमै केन्द्रीय पात्र उर्जाले बारुदले ध्वस्त पारेका स्तन देखाउँदै भन्छिन्–‘न मेरा बाआमाले तिमीलाई ज्वाइँ स्वीकारे, न छोरीलाई पेटभरी दुध खुवाउन पाए, न तिम्ले छोरीलाई पेटभरी भात खुवाउन सक्यौँ ।’ यो नै पिरको सारांश हो । उनले शब्दसँगै भिडियोमा गरेको डिटेलिङ र सिनेम्याटिक दृश्यबाट म प्रभावित छु । गीत प्रति मेरो दृष्टिको भने उनका अघिल्ला केही सिर्जनाको तुलनामा यो कमजोर गीत हो ।

पात्रमा जीवन्तता भर्नमा उनको ठूलो मिहेनत देखिन्छ । वायुले निरन्तर पढिरहने कार्लमाक्सको किताव, उर्जाले परदेश लाग्दा आफ्नो झोलामा राखेको नेपालको सानो झण्डा, उनीहरुले गरिरहने लालसलाम, फेसबुकमा देखिएको भिडियो, नेताको भाग भंगीमा, बिच बिचमा आउने संवाद र दृष्यले गीत नभएर मानिसलाई वास्तविकताको धरातलमा लगेर उभाइदिन्छ । प्रकाशले युद्धताका रुकुममै अन्तरजातीय जनवादी विवाह भएको देखाएका छन् । ब्यानरमा लेखिएको छ–‘सामन्ती सत्ताले निर्माण गरेको विभेदकारी जात व्यवस्था विरुद्ध जनवादी विवाह । तर, देश शान्ति प्रतिक्रयामा आए पछि अन्तरजातीय विवाहकै कारण रुकुममै माओवादीबाटै नवराज विक सहित छ जनाको हत्या भएको छ । प्रकाशले एउटै गीत मार्फत थुप्रै मुद्दाहरुमा बहसको बाण छुटाएका छन् । गीत मार्फत गम्भीर मुद्दामा बहस छेड्ने र राजनीतिक नेतृत्वलाई आफैतर्फ फर्केर समिक्षा गर्न बाध्य पारिदिएकोमा बधाई छ प्रकाश सपूत तिमीलाई । तिमीले भनेजस्तै पक्कै पनि अझै थुप्रै प्रश्नहरु सोध्न बाँकी छन्ः
आफ्नै विचार बैरी भयो का जाम कता भागम
ज्यानकै बाजी थापेको थे कसलाई हिसाव मागम

पिर विसाउने ठाउै पाइन का चौतारी चिनम
मान्छे बन्न मुस्कील भयो के बनेर हिनम् ?

कथालिका डटकमबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *