‘दलित महिला वडा सदस्यमै सिमित हुनुहुँदैन’

समताखबर
  १४ चैत्र २०७८, सोमबार १५:२०

मोरङ : दलित महिला जनप्रतिनिधि र सामाजिक अभियन्ताहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ । दलित महिला केन्द्र नेपाल काठमाडौँले मोरङको उर्लाबारीमा उर्लाबारी र सुनवर्षी नगरपालिकाका दलित महिला जनप्रतिनिधि र अभियान्तालाई नेतृत्व विकास एवम् पैरवी सीप विकास तालिम प्रदान गरेको हो ।

तीन दिनसम्म संचालित तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिममा समाजमा आफ्नो काम, कर्तव्य र जिम्मेवारी, सञ्चार सीप, हक अधिकार लगायतका विषयमा सहजीकरण गरिएको सहजकर्ता तथा दलित महिला केन्द्रकी संस्थापक अध्यक्ष गौरा नेपालीले जानकारी दिइन् ।

स्थानीय तह निर्वाचन नजिकिँदै गरेको अवस्थामा पार्टीमा आफ्नो भूमिका खोज्न, माथिल्लो पदमा जान पहलकदमी गर्न, पैरवी गर्न सहजीकरण गरिएको उहाँको भनाई छ ।

दलित महिला कोटामा मात्र सीमित नरहेर अब वडाध्यक्ष, प्रमुख, उपप्रमुखलगायतका पदमा पनि प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने साथै उक्त पदमा पुग्नका लागि पार्टीभित्र र बाहिर पैरवी गर्ने विषय पनि तालिममा समावेश गरिएको प्रशिक्षक राजबहादुर केसीले बताए । दलित महिलाहरुलाई नेतृत्व विकास गर्नका साथै समुदायमा परेका समस्यासँग जुध्न सीप प्रदान गरिएको उहाँको भनाई छ ।

यस प्रकारको तालिम यसअघि झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका दलित महिला जनप्रतिनिधि र महिला अभियन्तालाई प्रदान गरिएको कार्यक्रम संयोजक विमला विश्वकर्माले जानकारी दिइन् । उहाँका अनुसार दलित महिला केन्द्र नेपालले देशका ४० जिल्लामा १० वटा प्रोजेक्ट सञ्चालन गरिरहेको छ । एलडब्लुएफको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको विश्वकर्माले बताइ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *