हिंसाबाट जोगाउन किशोरीलाई आत्मरक्षा तालिम

समताखबर
  १९ चैत्र २०७८, शनिबार ०७:०८

कंचनपुर : महिला हिंसाका घटना प्रति दिन बढ्न थालेपछि सामाजिक विकास कार्यालय कंचनपुरले किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिम दिएको छ ।

कंचनपुरको पुनर्वास नगरपालिकाका किशोरीहरुलाई मनोसामाजिक मनोविमर्श तथा आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।

शुक्रबार पुनर्वास नगरपालिका-१ आइबिआरडीस्थित श्री जन कल्याण मा.वि.मा सम्पन्न तालिममा सोही बिद्यालयमा अध्ययनरत कक्षा ८ देखी १२ सम्मका एक सय ९ जना छात्रा सहभागि थिए ।

उनीहरुलाई सोसिएल मिडियाका कारण भइरहेको हिंसा र आत्मरक्षा कसरी गर्ने भनेर सात वटा टेक्निक सिकाइएको थियो। विभिन्न कारणले किशोरीहरुमा देखा पर्ने मनोसामाजिक समस्याबाट कसरी छुटकारा पाउने भन्ने उपायहरु बारे विभिन्न अभ्यास मार्फत सिकाइएको सामाजिक विकास कार्यालय कंचनपुरकी सामाजिक अभियन्ता लक्ष्मि बि.क.ले जानकारी दिइन् ।

कंचनपुरमा पछिल्लो समय हिंसाका घटना बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरको तथ्यांक छ । यस्ता घटनालाई निरुत्साहित गर्न, किशोरीको आत्मबल बढाउन तालिम आयोजना गरिएको सामाजिक विकास कार्यालयका प्रमुख धर्मराज जोशीले बताए ।

‘महिला हिंसा न्युनीकरण गर्न आत्मरक्षा तालिम जरुरी छ,’ उनले भने, ‘तालिममा मनोसामाजिक तथा शारीरिक घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाइँन्छ ।’

यस्ता किसिमका तालिम कंचनपुरका सबै बिद्यालयहरुमा अभियानको रुपमा संचालन गरिने उनले जानकारी गराए ।

तालिममा सहभागी कक्षा १२ मा अध्ययनरत निशा सुनारले ‘अप्ठ्यारोमा परेका बेला आफ्नो सुरक्षा आफै कसरी गर्ने भनेर सिकेको बताइन । उनले भनिन, मनोसामाजिक मनोविमर्शको कक्षा पनि निकै महत्वपूर्ण लाग्यो विभिन्न कारण किशोरी डिप्रेसनमा परेका हुन्छन् डिप्रेसन मुक्त हुने उपाय पनि सिक्न पायौं । यहाँ सिकेका कुराहरु स्कुलका अन्य साथीहरुलाई पनि सिकाउँने उनले प्रतिबद्धता ब्यक्त गरिन।

तालिमको सहजिकरण समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *