चन्द्रागिरीमा बिसे नगर्चीको शालिक अनावरण

समताखबर
  २१ चैत्र २०७८, सोमबार ०८:३३

काठमाडौँ : चन्द्रागिरी नगरपालिका-२ अमरसिंह टोलस्थित बाडभञ्ज्याङमा शुक्रबार बिसे नगर्चीको शालिक अनावरण गरिएको छ । बिसे नगर्ची स्मृति वाटिका निर्माण समितिले नगर्चीको पूर्ण कदको शालिक अनावरण गरेको हो ।

वि.स. १७४६ मा जन्मिएका नगर्चीले पृथ्वीनारायण शाहलाई राज्य एकीकरणका क्रममा आर्थिक संकट परेको बेला एक रुपैयाँको ढ्याक दिई गोरखाका बाह्र हजार घरधुरीबाट एक एक रुपैयाँ उठाउन सुझाव दिएका थिए ।

नगर्चीले शाहलाई काशीमा हतियार किन्न जाँदा श्रीहर्षसँगै लिएर जान र कालु पाँडेलाई राज्यको मुल काजी बनाउन सुझाव दिएका थिए ।

प्रतिनिधि सभाका सांसद अन्जना विसंखेले बिसे नगर्ची कुनै एउटा समुदायको मात्र नभएर सिंगो राष्ट्रको व्यक्ति भएकोले राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । समितिका अध्यक्ष दिनेश परियारले बिसे नगर्चीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

६३ लाखको लागतमा शालिक निर्माणसँगै बाटिका निर्माण गरिएको हो । त्यसैगरी बाडभञ्ज्याङ स्वास्थ्य चौकी भवन र घट्टे डाँडा पार्कको समेत उद्घाटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *