कृषि अनुदान दुरुपयोग

समताखबर
  ४ बैशाख २०७९, आईतवार ०८:१९

काठमाण्डौं  : बर्दिया जिल्लामा कृषि अनुदानको दुरुपयोग भएको छ । गुलरिया नगरपालिकामा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले दिएको अनुदान दुरुपयोग भएको पाइएको हो ।

गुलरिया नगरपालिका-४ को बगही गाँउको जब्दीघाट छेउमा बसोबास गर्दै आएका करिब १ सय ६१ घरधुरीका किसानहरुले बबई खोलाले छोडेको बगरमा तरकारी खेती गरीरहेका छन् । उनीहरुलाई लक्षित गरी एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले कृषि सामाग्री किन्नका लागि चार लाख अनुदान छुट्याएको छ ।

गाँउको श्री शिव पार्वती आई.पि.एम. महिला कृषि समुहलाई ४ हेक्टर क्षेत्रफल जमिनमा बगरखेती गर्नका लागि ९४ घरधुरी समेट्ने गरी बिउविजन ,मलखाद, सिचाईका लागि पम्पीसेट (बोरीङ्ग) मोटर,पाएप लगायत कृषि सामाग्री खरीद गरी ५० प्रतिशत अनुदानमा सामाग्री वितरण पनि गर्यो । तर, ती सामाग्री प्रयोगमा आएको छैन । किसानहरु भाडोमा खोलाबाट पानी बोकेर खेती गर्न बाध्य छन् ।

शिव पार्वती कृषि समूह बगहीकि अध्यक्ष अनिता चौधरीले पनि अनुदानमा कृषि सामाग्री पाएकि थिइन् । तर, उनले सामाग्री प्रयोगमा ल्याएकि छैनन । अनुदानमा पाउनु भएको सामाग्री किन प्रयोग भएन भन्दा उनीसँग जवाफ छैन ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सिचाईका लागि बोरीङ्ग,मोटर,डेलिभरी पाईप, लगायत कृषि सामाग्रीहरु खरिदका लागि रु ४ लाख अनुदान दिएको कुरा स्विकार गरेको छ । तर, आफूले दिएको अनुदानको सदुपयोग भयो या भएन अनुगमन भने गरेको छैन ।

बगर खेती गर्ने कृषकहरुलाई समुहले कृषि सामाग्री वितरण गर्दा वडा जनप्रतिनिधिको उपस्थितीमा वितरण गरीएको थियो । तर हाल ति सामाग्री के कस्तो अवस्थामा छ भन्ने विषयमा वडा कार्यालय बेखबर छ ।

अनुदानमा आएका सिचाईका लागि बोरीङ्ग र मोटर जडान गरीएको छैन जसका कारण कृषकहरु खोलाबाट बाल्टीमा पानी बोकेर बगर खेतीमा सिचाई गर्न बाध्य छन् । सिचाइँको अभावमा बाली सुकेको छ । सामाग्री वितरण गर्न पुग्ने तर, सामग्रीको सदुपयोग भयो या भएन अनुगमन नगर्ने गैर जिम्मेवार निकायका कारण अनुदानको दुरुपयोग हुँदै आएको बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *