स्थानीय तहमा दलितको प्रतिनिधित्व न्यून भएको गुनासो

समताखबर
  ११ बैशाख २०७९, आईतवार १०:१९

धनगढी : दलित समुदायका अगुवाहरुले सुदूरपश्चिम प्रदेशमा दलितको जनसंख्या १८.९ प्रतिशत भएपनि स्थानीय तहमा निक्कै कमजोर प्रतिनिधित्व भएको बताएका छन् ।

शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा दलित समुदायका अगुवाहरुले यस्तो बताएका हुन् । यूएनडिपीको आर्थिक सहयोगमा राष्ट्रिय दलित नेटवर्कद्धारा आयोजित आगामी स्थानीय तहको निर्वाचनमा दलितहरुको समावेशीकरण विषयक सुदूरपश्चिम प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट सहभागी दलित अगुवाहरुले स्थानीय तहमा प्रतिनिधित्व बढाउन आआफ्नो दलमा दवाव दिनुपर्नेमा जोड दिए ।

समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले आफूले सबै दलमा दलित उम्मेदवार बनाउनका लागि पहल गरिरहेको बताए । दलित समुदायका उम्मेदवार जिताउ अभियान संचालन गरेको समेत परियारले बताए ।

चैत्र १८ गते धनगढीकै होटल सनलाईटमा समता मिडिया सेन्टरले सबै दलका प्रमुखलाई सहभागी बनाएर स्थानीय तहमा दलित प्रतिनिधित्व बढाउने बारे कार्यक्रम आयोजना गरेको र उक्त कार्यक्रममा दलका प्रमुखहरुले प्रतिबद्धता जनाएको समेत उनले बताए ।

सो अवसरमा अधिवक्ता पुष्पविक्रम शाहीले स्थानीय तहमा दलितको अवस्था बारे कार्यपत्र प्रस्तुती गरेका थिए । कार्यपत्रमा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा अहिले दलित समुदायका पाँच जना मात्र प्रमुखरउपप्रमुख रहेको उल्लेख गरिएको छ । यस्तै खुला क्षेत्रबाट २६ जना महिला सदस्य र आरक्षण तर्फबाट ७२९ महिला सदस्य रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट धनगढी उपमहानगरको उपप्रमुखमा प्रस्तावित रोजी बस्नेतले दलितलाई सधै पार्टीले उपेक्षा गर्ने गरेको र हार्ने ठाउँमा मात्र दलितलाई उम्मेदवार बनाउने गरेको गुनासो गरे ।

नेपाली काँग्रेसका कैलाली जिल्ला सचिव नृप सुनार,नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटि सदस्य  गोविन्द विक र नेकपा (एकीकृत समाजवादी) कैलाली जिल्ला उपसचिव दीर्घ जोशीले आगामी स्थानीय तहको निर्वाचनमा दलित उम्मेदवार बढाउन प्रयास गर्ने प्रतिवद्धता गरे ।

राष्ट्रिय दलित नेटवर्कका कार्यवाहक अध्यक्ष मोहन वडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्वती आग्रीले स्वागत तथा हुकुम कार्कीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *