कैलालीको बिपतपुर मुक्त कमैया वस्तीमा आगलागी

समताखबर
  १२ बैशाख २०७९, सोमबार १४:२९

धनगढी : कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगोले बस्ती नै सखाप भएको छ । दिउँसो १२ बजेतिर भएको आगलागी झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको हो ।

आइतवार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

उनका अनुसार ७१ घरधुरीले बनाएको घर, गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् । तर, मानवीय क्षति भने नभएको प्रजिअ थापाले बताए ।

घटनाको कारण र यकिन तथ्यांक आउन बाँकी रहेको बताउँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए । जिल्लाको निकै दुर्गममा रहेको सो वस्तीमा तत्कालै अग्नि नियन्त्रक स्रोतसाधन पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीले बताए ।

आगलागी भएको निकै समयपछि मात्रै टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्साभेटरको सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा आएको हो ।

वस्ती नै खरानी भएपछि स्थानीय प्रशासनले तत्कालका लागि स्थानीयलाई त्रिपाल, खानेकुराको व्यवस्था गर्न लागेको प्रजिअ थापाले जानकारी दिए ।

घर भर्खरै भित्र्याएको गहुँसहित खाद्यान्न, शरीरमा भएको लत्ता कपडाबाहेक सबै सम्पत्ति जलेर नष्ट भएपछि स्थानीयको बिजोग भएको छ ।

अग्नी प्रभावितलाई राहत सामग्री

कैलारी गाउँपालिकाको कार्यालयले अग्नी प्रभावित मुक्त कमैयाका लागि राहत सामग्रीमा झुलससहित तत्कालका लागि औषधि, सुख्खा खाना, प्रति परिवारलाई एक/दुई छाक हुने गरी चामल पठाइएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।

‘केही दिनलाई पुग्ने गरी चामल सबै परिवारलाई सोमबारसम्म उपलब्ध गराउँछौं’, उनले भने । प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रहेको त्रिपाल अग्नी पीडित मुक्त कमैयाका लागि माग गरिएको अध्यक्ष चौधरीले बताए ।

यस्तै, नेपाल रेडक्रस पनि गैरखाद्य सामग्री लिएर आगलागी भएको बस्तीमा जाँदैछ । रेडक्रससंग रहेको भाँडाकुँडा, मेट्टेस लगायतका सामग्री लिएर बस्तीका लागि हिडेको रेडक्रस कैलालीका चेतन खड्काले जानकारी दिए । उनले राति नै भए पनि प्रभावितहरुलाई आवश्यक सामग्री दिइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *