कोरोना कालमा “दलित” सबैभन्दा पीडित !

मिलन परियार
  ५ श्रावण २०७९, बिहीबार १३:०४

धनगढी : कोरोना महामारीको समयमा सबैभन्दा बढी समस्या दलित समुदायले भोग्नु परेको एक अध्ययनले देखाएको छ । International Commission for Dalit Rights (ICDR) US को “इन्टरनेशनल मिडिया फेलोसिप” प्रोग्राम २०२२ का नेपाल फेलो पत्रकार मिलन परियारले डोटीको सायल र आदर्श गाउँपालिकामा गरेको स्थलगत अध्ययन अनुसार कोरोना कालमा सबैभन्दा बढी दलितहरुले समस्या भोग्नु परेको पाईएको हो ।

अध्ययनका क्रममा कोरोनाले गर्दा दलितहरुले सामाजिक,साँस्कृतिक, आर्थिक र शैक्षिक रुपमा अन्य समुदायको भन्दा बढी समस्या भोग्नु परेको दलितहरुले बताएका थिए । सायल गाउँपालिकाको मेल्लेख, डौड र तोलेनी गाउँ र आदर्श गाउँपालिकाको बाँझ,दहकालिकास्थान, काँडी स्याउले, लामिखाल, मौवा र गिरिचौका गाउँका दलित बस्तीमा गरिएको छलफलका क्रममा दलितहरुले यस्तो बताएका हुन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको करिब एक बर्ष लामो लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने दलितहरुको रोजगारी गुमेका कारण विहान बेलुकीको छाक टार्नै मुस्किल परेको बताईएको छ । रोजगारी गुम्दा पेट पाल्नकै लागी साहुमहाजनबाट चर्को व्याजदरमा रिण लिनु परेको, बालबालिकाहरु अनलाइन शिक्षाबाट बंचित हुनुपरेको, भारतबाट घर फर्केकाहरु क्वारेन्टाइ बस्दा समेत दलित भएकै कारण जातिय विभेद भोग्नु परेको उनीहरुको गुनासो गरेका थिए । त्यसैगरी पालीकाले वितरण गरेको स्वास्थ्य सामग्री उपभोगबाट समेत बंञ्चित भएको समेत उनीहरुले सुनाए ।  

कोरोना महामारीमा दलितहरु सबैभन्दा पिडित बनेकोले उनीहरुका लागि गाउँपालिकाले बिशेष प्राथमिकताका साथ बजेट बिनियोजन गर्नुपर्ने सायल गाउँपालिका-६ मेल्लेखका समाजसेबी पदम बहादुर खड्का बताउँछन् ।

कोरोना महामारीमा दलित समुदायले भोग्नुपरेको अवस्थाबारे एक हप्ता लामो गरिएको अनुसन्धानका क्रममा आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले सबै क्षेत्रबाट पछाडि परेको दलित समुदाय कोरोना कालमा पनि अन्य समुदायको तुलनामा धेरै मारमा परेकोले गाउँपालिकाले प्रदेश सरकारबाट प्राप्त राहत पहिलो कोरोना कालमै उपलब्ध गराएको र स्वास्थ्य सचेतना कार्यक्रम समेत संचालन गरिएको बताए ।

दलित एकता समृद्ध समाजका अध्यक्ष शंकर नागरीले कोरोना कालमा यहाँका दलितहरु सबै भन्दा बढी आर्थिक मारमा परेको हुँदा स्थानीय सरकारले आर्थिक शसक्तिकरणका कार्यक्रमहरु संचालन गरिनु पर्ने बताए । उनले भने कोरोनाको मारमा परेका दलित समुदायको अवस्था विगतको भन्दा झन नाजुक भएकाले उनीहरुको आर्थिक अवस्था उकास्नका लागि स्थानीय सरकार सबैभन्दा बढी गम्भिर हुनुपर्छ । स्थानीय सरकारमा दलित समुदायको पहुँच बढाउन दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम संचालन गरि रहेको नागरीले जानकारी दिए ।

कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले दलितहरु सतर्क हुनुपर्ने आदर्श गाउँपालिका-६ गिरिचौकाका लाल बहादुर नेपालीले बताए । सायल गाउँपालिका-३ तोलेनीकी गीता भुलले कोरोना महामारीका बेला स्वास्थ्य सामग्री, राहत वाफतको खाद्यान्न र खोपमा समेत भेदभाव भोग्नु परेको बताईन् ।

समताखबरका प्रधान सम्पादक परियार International Commission for Dalit Rights (ICDR) US को “इन्टरनेशनल मिडिया फेलोसिप” प्रोग्राम २०२२ का नेपाल फेलो हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *