बेमौषमी तरकारी खेतीबाट मनग्गे आम्दानी

तारा सार्की
  ८ श्रावण २०७९, आईतवार १८:१९

कालिकोट : कालिकोटका अधिकास किसानहरुको आम्दानीको मुख्य श्रोत बनेको छ तरकारी खेती ।  पछिल्लो समय बेमौषमी तरकारी खेती थालेका यहाँका किसानहरुको तरकारी खेती आम्दानीको मुख्य श्रोत बनेको हो । तरकारी खेतीबाटै यहाँका किसानहरुले मनग्गे आम्दानी गर्ने गरेका छन् ।

शुभकालिका गाउँपालिका-५ का स्थित बिर्ख बहादुर शाही विगत लामो समयदेखी तरकारी खेती गर्दै आएका छन् । विगतमा घर खर्च चलाउन निकै गारो परेपछि मजदुरी गर्न भारत जाने गरेका शाही तरकारी खेतीबाटै मनग्ने आम्दानी गर्न थालेका छन् ।

बिर्खकी आमा, श्रीमति,१ छोरी र २ छोरा सहित ५ जनाको परिवार तरकारी खेतीलेनै धानेको छ । यस अघि पाखोबारीको खेतीले तीन महिना पनि खान नपुग्ने र छोराछोरीको पठनपाठनका लागि आबश्यक पर्ने कपीकलम समेत किन्न हम्मेहम्मे परेपछि परिवार पाल्नकै लागि छिमेकी देश भारत हानिएका थिए ।

तरकारी खेतीबाट मनग्गे आम्दानाी गरेपछि घर खर्च र बालवालिकाको पढाई खर्चमा सहज भएको उनी बताउँछन् ।

उनको पलाष्टिक घरमा अहिले प्रशस्त मात्रामा फर्सि,टमाटर,काक्रा र बारीमा बन्दा र सिमी लटरम्म फलेका छन् ।  यो सिजनमा ५० केजी टमाटर प्रति केजी रु १ सयको दरले, एक क्विन्टल फर्सि प्रतिकिलो रु ७० रुपैयाँ, दुई क्विन्टल काक्रा प्रतिकिलो रु ६०, चार क्विन्टल बन्दा प्रतिकिलो रु ५० र २५ केजी सिमी प्रतिकिलो रु ५० का दरले स्थानीय बजार र संकलन केन्द्रमा बिक्री गरी ४३ हजार आम्दानी गरेको बताए । 

टिडिएच,बिएमजेडको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा ग्रामिण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विविधता शुलभ कार्यक्रम मार्फत शाहीले सहयोग अनुदान पाएका थिए । 

आधुनिक तरिकाबाट वेमौषमी तरकारी खेतिका लागि टिडिएच,बिएमजेड र हुरेन्डेक नेपालबाट बिर्ख बहादुर शाहीले पलाष्टिक घर,विभिन्न उन्नत जातका तरकारीका विउँ सहयोग पाएका छन् ।

शुलभ परियोजना १ जुलाई २०२० देखि हालसम्म संचालन भईरहेको छ ।

हुरेन्डेक, नेपालले गठन गरेको अर्गानीक तरकारी तथा फलफुल कृषक समुहमा शाही सदस्य छन्। शाही लगाएत उक्त समुहका सम्पूर्ण सदस्यहरु हाल परम्परागत तरकारी खेती त्यागेर आधुनिक तरिकाले खेती गर्दै आएको हुरेन्डेक नेपालकी सामाजिक परिचालक सिर्जना शाहीले बताईन् ।

तरकारी खेतीबाट हुने आम्दानीले एक छाक ढुक्कले खान पाएको उनको परिवार निकै खुशी छ । तरकारी किनेर खानु पर्ने बाध्यता पनि टरेको उनको भनाई छ ।

तरकारी खेतीले भारत जानु पर्ने बाध्यता हटेको बताउँदै उनले आफेनै माटोमा पसिना बगाउन सके गाउँमै धेरै आम्दानी गर्न सकिने सुनाउँछन् । आफू यो अबस्थासम्म पुग्नमा सहयोगी सस्थाको ठूलो सहयोग रहेको भन्दै टिडिएच,बिएमजेड र हुरेन्डेक नेपाललाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *