बल्चौरका १२४ भूमिहीन बादी परिवारले पाए जग्गा धनीपुर्जा

समताखबर
  ७ भाद्र २०७९, मंगलवार १७:२३

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरका १२४ भूमिहीन वादी परिवारले घरबासको जग्गा धनीपुर्जा प्राप्त गरेका छन् । महेन्द्र राजमार्गको छेउमा बसोबास गरिरहेका १७७ बादी परिवार मध्ये १२४ परिवारले मंगलबार लालपूर्जा पाएका हुन ।

छ परिवारका घरमूली रोजगारीको क्रममा भारत भएकाले पछि हस्तान्तरण गरिने बताइएको छ । जग्गा धनीपुर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।

बादी समुदायका परिवारलाई जग्गा धनीपुर्जा वितरण गर्न नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ कैलाली पुगेकी थिइन् ।

जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले  संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हक अधिकार स्थापित गर्न भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको बताइन् । 

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले समाजमा दलित समुदायभित्र पनि पछि परेको भूमिहीन वादी समुदायले घरबासको जग्गा धनीपुर्जा पाउनु समुदायले आत्मसम्मानका रुपमा लिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *