
काठमाडौं : यो संसारमा चिन्ता नभएको मान्छे को हुन्छ र ? दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित भैहाल्छौँ । बिगतको कुराले । भबिस्यको कुराले । करियरको कुराले । सुरक्षाको कुराले । पैसाको कुराले । विफलताको कुराले । साथीभाईको कुराले । शारीरिक रोगको कुराले । छोराछोरीको कुराले । परिवारको कुराले । मृत्युको कुराले । इज्जतको कुराले । प्रतिष्ठाको कुराले । सम्पत्तिको कुराले । आदि ।
सिग्मण्ड फ्रायडले त्यतिकै भनेका होइनन `जन्म नै चिन्ताको पहिलो अनुभव, त्यसको स्रोत र प्रभावको प्रारुप हो ।´ भनेर । तर यसको अर्थ जीवन भर चिन्तै चिन्ता हुन्छ भन्ने पनि होइन् ।
वान डायर भन्छ्न-`यो संसारमा तनाव,चिन्ता डर र रिस तत्वहरुको स्वतन्त्र अस्तित्व हुदैन । भौतिक संसारमा सामान्यतया तिनीहरु अस्तित्वमा हुदैनन् । तथापि हामी तिनीहरु कै चर्चा गर्छौ, गरे जस्तै गरेर ।´ र यो पनि भन्छ्न-`सत्य यो छ कि संसारमा कुनै वास्तविक तनाव वा चिन्ता छैन; यो तपाईको बिचारहरु हो जसले यी झूटा विश्वासहरुलाई सिर्जना गर्दछ । तपाईं तनावलाई पोको पार्न, छुनु वा हेर्न सक्नुहुन्न । त्यहाँ मानिसहरु केवल तनावपूर्ण सोचमा ब्यस्त छ्न् ।´
लिल पीप भन्छ्न्–` मलाई डरलाग्दो चिन्ता छ।´ मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो । सोरेन किर्किगाड भन्छ्न्- `चिन्ता स्वतन्त्रताको फड्को हो ।´ हामी चेतनशिल छौं, चिन्ता हुन्छ नै । तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ । किनभने चिन्ता एक किसिमको मानसिक विकार हो ।
चिन्ताले अहिलेसम्म केही काम गर्न सकेन । बरु उल्टै उसले गर्ने काम भनेको चिन्ताले चितामा पुर्याउँछ भन्ने मात्र हो ।
अर्थात चिन्ताले शरीरलाई जिर्ण र रोगी बनाउँछ । बिचारबल र आत्मबल कमजोर बनाउँछ । यसले हामीलाई सामाजिक जीवनबाट अलग गराउँछ । बौद्धिक ब्याक्तित्व समेत कमजोर पार्छ । के विश्लेषण गरिएको छ भने, अबको केही बर्षपछि विश्वको सबैभन्दा ठूलो शारीरिक र मानसिक समस्यामा चिन्ता वा डिप्रेसन देखापर्नेछ । त्यो मोबाइल प्रयोगले, जीवनशैलीले,खानपानले, प्रदुषणले, हुनसक्छ ।
हेनरी वार्ड बिचेर भन्छ्न्-`प्रत्येक भोलि दुईवटा ह्यान्डलहरू छन् । यसलाई हामी चिन्ता वा विश्वासको ह्यान्डलको साथ समात्न सक्छौं ।´ हो, त्यो कुरा हामी मै भर पर्छ ।
एकट टल्स भन्छ्न्-`मानिसहरू राम्रो चीजहरूमा भन्दा नकारात्मक चीजहरूमा बढी ध्यान दिन्छन् । त्यसो भएकाले दिमाग नकारात्मक चीजहरूमा डुब्छ र बिचारले भबिस्यको बारेमा दोष र चिन्ता पैदा गर्छ ।´यसबाट स्पष्ट हुन्छ । ब्यक्तिलाई चिन्तित तुल्याउने तत्व नकारात्मक सोच नै हो ।
चिन्ता मानसिक समस्या हो । त्यसैले बिस्तारै शारीरिक समस्या निम्त्याउँछ । न यसको उपचार औषधीले मात्र संभव छ । न शल्याक्रिया गरेर नै । न वास्तविक औषधि नै छ । मानसिक व्यवस्थापन नै यसको सबैभन्दा प्रभावकारी विधि हो । तर, चिन्ताग्रस्त व्यक्तिलाई मानसिक रुपले ठिकठाक आवस्थामा ल्याउन सजिलो भने छैन । किनभने चिन्तै चिन्ताको लामो शृङ्खला हुन्छ ।
भनिन्छ, चिन्ता घटना वा समस्याले ल्याउदैन् । त्यसलाई मानसिक सोचले कसरी लिन्छ ले ल्याउँछ । मनले नकारात्मक अर्थ दिने । बारम्बार मनमा नकारात्मक कुरा आइरहने । मनमा बिचारको भिड लाग्ने । हृदयले त्यहिरुपमा ग्रहण गर्ने र त्यसले भावनामा असर पर्ने हुदा चिन्ता उत्पन्न हुन पुग्छ । अनि डिप्रेसनसम्म पुग्छ ।
चिन्ताको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं । जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जीन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै विस्तारै मानिस चिन्ताको चरम अवस्थामा पुग्छ ।
चिन्ता र तनावका कारण शरीरमा हार्मोन्सको तह बढ्छ, जसमा एडि्रनलीन र कार्टिसोल प्रमुख छन् । कार्टिसोल बढेसँगै तनाव पनि बढ्छ। लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ ।
चिन्ताको प्रमुख कारणहरु :
नकारात्मक सोच, समय सन्दर्भ, मानसिक डर, असफलताको भय, कमजोर आत्मबल, समस्यामा मानसिक अवरोध, कमजोर बिचारबल र नकारात्मक हर्मोनको उत्पादन आदि रहेका छ्न् ।
चिन्ताका मनोवैज्ञानिक लक्षणहरु :
निरन्तर चिन्ता लिनु, स्वास्थ्यको विषयमा चिन्तित रहनु
नकारात्मक विचार मनमा आउनु,काममा मन नलाग्नु
स्वभाव चिडचिडा हुनु,सानोतिनो कुरामा रिस उठ्नु
मनस्थितिमा परिवर्तन,पागल जस्तो व्यवहार गर्नु
एक्लै बस्न मन पराउनु, नराम्रो सपना देख्नु,रिस उठिरहनु । कहिल्यै खुशी नहुनु र डर लाग्नु आदि हुन्छ्न ।
चिन्ताले डिप्रेसन निम्त्याउछ । डिप्रेसनका शारीरिक लक्षणहरु; टाउको दुख्नु, मुटु काँप्नु, खाना निल्नमा समस्या, उल्टी आउनु, बारम्बार बाथरुम जानु, शरीर पहेँलो हुनु, श्वास प्रश्वास छोटो हुनु, रिंगटा लाग्नु मांसपेशीमा दुखाई मुटुको धड्कन बढ्नु, शरीर काँप्नु पसीना आउनु, ब्लड प्रेसर घटबढ हुनु र थकावट हुनु आदि हुन् ।
चिन्ता हटाउने तरीका :
चिन्तित भएको बेला मानिसलाई लाग्छ कि उसको जिन्दगी अब खत्तम भयो । उसमा अब म केही गर्न सक्दिन बिस्तारै मर्छु भन्ने नकारात्मक सोच पैदा हुन्छ । चिन्ता हटाएर आफूलाई परिवर्तन गर्न सकारात्मक सोच जरुरी छ ।
चिन्ता हटाउँने उपायाहरु बुदाँगत रुपमा निम्नानुसार चर्चा गर्न सकिन्छ :
१. लामो लामो श्वास तान्ने र मुस्कुराउने :
जतिबेला तनावको महसुस हुन्छ त्यतिखेर तपाईले लामो लामो श्वास तान्नु भयो भने तनाव बिस्तारै कम हुन्छ । र मुस्कुराउँदा पनि हल्का महसुस हुन्छ ।
२. विषयबाट ध्यान हटाउने :
यो योजना वा रणनीतिमा व्यक्ति आफूलाई डिप्रेसनमा पार्ने स्थिति वा समस्याबाट आफ्नो ध्यान हटाउँछ, र अरु काममा आफूलाई व्यस्त राख्ने प्रयास गर्छ । त्यो समस्याको बारेमा सोच्न पनि छाडिदिन्छ जसले गर्दा व्यक्तिलाई शान्ति मिल्छ ।
३. चिन्ताको कारण थाहा पाउने :
यदि तपाईं चिन्ताको समाधान निकाल्न चाहने हो भने सबैभन्दा पहिले चिन्ताको कारण पत्ता लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ ।
त्यसपछि सोचौं कि यो समस्याको के समाधान हुन सक्छ।समय,मानसिक अवरोध र समस्याहरु कारण बनेर आएका हुन्छ्न् बुझेर निवारण गर्नुपर्छ ।
४. भविष्यको चिन्ताबाट परै रहने :
‘भोलि के होला ?’ भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिष गरौं । भनाई नै छ नी मरेको दिन हिजो, आउदै नाआउने भोलिको चिन्ता गरेर आजलाई खराब नगरौँ । यसो गर्दा भविष्य आफसेआफ ठीक हुन्छ । हाम्रो हरेक दिन र हरेक पलले हामीलाई केही न केही नयाँ कुरा सिकाउँछ र समस्यासँग लड्न सिकाउँछ ।
५. चिच्याएर प्रतिक्रिया दिने :
चिन्ता लागे चिच्याउनु राम्रो मानिन्छ । केही व्यक्तिहरु अत्यधिक तनावको समयमा जोड जोडले चिच्याउने गर्छन् । यो तनावपूर्ण वा कष्टदायी स्थितिबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । मनोविज्ञानले पनि तनावपूर्ण स्थितिमा चिच्याउनुलाई राम्रो मान्छ ।
६. गीत संगीत सुन्ने :
गीत संगीतमा हिलिङ पावर हुन्छ । यसलाई म्युजिक थेरापीको रुपमा प्रयोग गर्न सकिन्छ।गीत सुनेर पनि तनाव वा दवावबाट क्षणिकरुपमा मुक्ति पाउन सकिन्छ । गीत सुन्दा व्यक्तिले आफूलाई तरोताजा महसुस गर्छ ।
७. भावनाहरु साटासाट गर्नु :
तनाव कम गर्ने एउटा तरिका भनेको आफ्नो मनका कुरा अरुसँग सेयर गर्नु पनि हो । आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्दा मन हलुंगो हुन्छ । तर मन मिल्ने गोपनियता कायम गर्ने साथि सँग मात्र भावना साटासाट गर्ने गरौँ ।
८. नशा र कुलतबाट जोगिने :
कुलतले ब्यक्तिलाई एकदिन तनाव दिन्छ । तनावमुक्त हुने नाममा धेरै व्यक्तिहरु रक्सी चुरोटको सहारा लिन पुग्छ । तर, यसले उनीहरुलाई उल्टो हानी गर्छ । नोक्सानी गर्छ । डिप्रेसनमा भएका व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै टाढै बस्नुपर्छ । सेवन गर्न तत्कालै छोडी दिनु पर्छ ।
९. योग र प्राणायाम गर्ने :
हामीले टेन्सन र डिप्रेसनबाट मुक्त हुन चाहने हो भने दैनिक योग र प्राणायाम गर्नुपर्छ । यस योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन कम हुन्छ र बुद्धि तेज हुन्छ । बिस्तारै चिन्ताबाट मुक्ती मिल्छ ।
१०.ध्यान गर्ने :
ध्यान नै चिन्ता हटाउने सर्वतोमुखि विधि हो । जान्ने ब्यक्तिबाट ध्यान सिकेर अभ्यास गर्दा खुव फाइदा मिल्छ ।
११. हाँस्ने कला सिक्ने ,हाँस्ने र हसाँउने :
हाँस्नु पनि तनाव कम गर्ने एउटा महत्वपूर्ण अस्त्र हो । हाँस्नाले हामीभित्र एन्डाफिर्न हार्मोन्सको मात्रा बढ्छ र यसले हामी रिल्याक्स महसुस गर्छौं । त्यसैले आफू पनि हाँस्नु र अरुलाई नी हसाउने गर्नुपर्छ ।
१२. समूहमा बस्ने :
एक्लोपना चिन्ताको एउटा प्रमुख कारण हो । यदि तपाईंको परिवारमा कोही डिप्रेसनबाट पीडित छ भने जति सकिन्छ उसँग समय बिताउनुस । अत्यधिक डिप्रेसनको अवस्थामा मानिसहरुमा आत्महत्याको विचार आउने गर्छ । त्यसैले उसलाई सकभर एक्लै छोड्नु हुँदैन । त्यस्तो ब्यक्ति साथि समूहमा बस्नु राम्रो हुन्छ ।
१३.सिर्जनात्मक कार्यमा लागेर ब्यस्त हुने :
फुर्सदले ब्यक्ति बिग्रीन्छ । त्यसैले ब्यस्त हुनु पर्छ । कार्य नै पूजा आराधना हो भनेर लागि पर्नु पर्छ। सिर्जनात्मक कार्यमा लाग्ने गर्दा दिमाग कृयाशिल हुन्छ। चिन्ता दुर हुन्छ ।
१४.नकारात्मक सोच हटाउने :
सकारात्मक सोच्ने । भलो चिताउने । आभारी हुने । बिगतलाई माफ दिने । समस्यालाई स्वीकार गर्ने र विवेकपूर्ण रुपले हल गर्ने हो भने चिन्ता हट्छ ।
१५.फलफूल तथा साग सब्जी खाने र प्रशस्त पानी पिउने :
हरियो सागसब्जी र फलफूलको नियमित सेवनले तनाव मुक्त गर्न मद्दत गर्छ।दैनिक प्रशस्त पानी पिउने गर्दा पनि फाइदा पुग्छ ।
१६. मोटिभेसनल भिडियो हेर्ने, पुस्तक पढ्ने र सकारात्मक मानिसहरूसँग मात्र संगत गर्ने ।
हामी जुन कुरामा समय ब्यातित गर्छौ ,त्यस्तै हुन्छौं । जे हेर्छौ,गर्छौँ ,सोच्छौँ र संगत गर्छौ त्यस्तै बन्छौँ । त्यसैले हामीले सकारात्मक ब्यक्तिहरुको संगत गर्ने, पढ्ने,उत्प्रेरित गर्ने खालको भिडियो या फिल्महरु हेर्ने गर्नुपर्छ ।
अत: लामो श्वासप्रश्वास गर्ने,मुस्कुराउने, सकारात्मक सोच्ने,ध्यान तथा प्रणायम गर्ने,सिर्जनात्मक कार्य गर्ने,नशाबाट जोगिने जस्ता कार्य गर्ने हो भने चिन्ताबाट छुटकारा पाउन सकिन्छ । त्यो तपाईं स्वयंको अभ्यासमा बढी भर गर्छ ।

Leave a Reply