
बर्दिया : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा बर्दियाको गुलरियामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । OSF/ASD को आर्थिक सहयोगमा भूस्वामित्वमा बादी समुदायको पहुँच बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली बादीको अध्यक्षता तथा राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष बिनाराम चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको हो । कार्यक्रमका अन्य अतिथिहरुमा राष्ट्रिय भुमि आयोग बर्दियाका बिज्ञ सदस्य निरा चौधरी,राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष केशव नेपाली बादी, महिला मानव अधिकार रक्षक संजालका टिका समसेली मंगर, दलित महिला उत्थान सघ वर्दियाका विवा विक,थारु महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक तेजमणि पन्त, सामुदायिक विकास संस्थाका अध्यक्ष कालुराम वि.क लगायतका थिए ।

३३ जना सहभागी रहेको सो कार्यक्रममा कमिट नेपालका कार्यक्रम संयोजक प्रकाश नेपालीले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय बादी संजालका अध्यक्ष नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्र बारे छलफलका क्रममा बादी समुदायका अगुवाहरुले भुमिहिन बादी समुदायले भोग्नु परेका समस्याहरुको बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । छलफलका क्रममा बोल्दै बादी अगुवाहरुले आफ्नो नामको जमिन नहुँदा सरकारले उपलब्ध गराउँने जनता आवास अन्तर्गतको भवन प्राप्त गर्न नसकेको,अर्काको घरको गाईगोरु बाध्ने गोठमा बस्नु परेको, पेट पाल्नका लागि ६ महिना भारत र ६ महिना नेपाल बस्नु परेको दुःख सुनाएका थिए । जमिन नभएकै कारण घर बनाउन नसकेको र घर नै नभएपछि शिक्षा, स्वास्थ्य तथा आर्थिक क्रियाकलापमा संलग्न हुन नसकेको उनीहरुले गुनासो पोखे ।

आफ्नो घरजग्गा नहुँदा गाउँले,बिद्यालय र सामुदायिक बनका ब्यक्तिहरुले पटकपटक आफुहरुमाथि सांघातिक आक्रमण गर्नुका साथै बनाएका टहराहरु भत्काउने गरेको बताए ।
यही देशको नागरीक भएर पनि राज्यले गैर नागरिकको जस्तो व्यवहार गर्दै आएको बताउँदै भुटानी शरणार्थीको ब्यबस्थापनमा पहल गर्ने राज्यले आफ्नै देशका बादी समुदायको व्यवस्थापन गर्न नसकेकोप्रति दुख व्यक्त गरे । बादी समुदायप्रति समाज र राज्यले हेर्ने नकारात्मक दृष्टिकोणकै कारण बादी समुदायका ब्यक्तिहरु बिभिन्न हिंसा, तथा यौन शोषणमा पर्न बाध्य भएको धारण पनि ब्यक्ति गरेका थिए ।

बादी समुदायले उठाएका सवालहरुको बारेमा कार्यक्रममा सहभागीहरुले बादी समुदायको मुद्धामा आफ्नो सकारात्मक भुमिका रहेको भन्दै सवालहरु गम्भिरताका साथ लिएको बताए । राज्य गैरजिम्मेवार भएकै कारण बादी समुदाय यो अबस्थामा पुगेको र राज्यका संयन्त्रमा बादी समुदायको पहुँच नहुनु, बादी समुदायलाई दलित क्लष्टरमा राख्नु, राजनैतिक पहुँच नहुनु, अशिक्षा, गरिवी र बेरोजगारीका कारणनै बादी समुदाय यो अबस्थामा पुगेको प्रतिकृया दिए ।
नेपालको संबिधान तथा ऐन नियममा बादी लगायत दलितका थुप्रै अधिकार भएता पनि ती निति नियमलाई ब्यबहारमा कार्यान्वयन नगरिका कारण समस्याहरु ज्यूका त्यू रहेको बताए । निति,नियमहरुलाई कार्यान्वयन गर्नका लागि बादी समुदायको पक्षमा हातेमालो गर्न तयार रहेको उनीहरुको भनाई थियो ।

छलफलका क्रममा उठेका सवालहरुलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष चौधरीले बादी समुदायले उठाएका मागहरु जायज रहेको र बादी समुदायलाई जग्गा धनी पुर्जा वितरणमा पहिलो प्राथमिकतामा राखिने, आफ्नै कार्यकालमा वितरण गर्ने प्रतिबद्धता जनाए । उनले,लगत लिने काम पहिलेको आयोगले नै गरिसकेको हुँदा त्यसमा कोही छुटेको भए ३५ दिने सुचना वार्ड कार्यालयमा खुल्दै छ त्यतिबेला फारम भर्न सकिने बताए ।
कार्यक्रमको समापनका क्रममा कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले भुमिहिन वादी समुदायको भुस्वामित्वमा पहुँच बृद्धिका लागि स्थानिय सरकारको समन्वयमा भुमि सम्बन्धि अबस्था बिश्लेषण गरी सुकुमबासी अब्यबस्थित बसोबास र भुमिहिन बादी समुदायको पहिचान गर्नुपर्ने र ऐलानी जमिनमा बसेका वादी समुदायलाई जग्गाको जग्गा धनी दर्ता प्रमाण पत्र दिनुपर्ने र जंगल खोला र अन्य सरकारी जमिनमा बसेका वादी परिवारलाई जमिनको ब्यबस्था गरि प्रमाणपत्र सहित नमुना बस्तीको ब्यबस्था गर्नुपर्ने बताए ।

Leave a Reply