राष्ट्रपतिलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन् : उपराष्ट्रपति

समताखबर
  ५ आश्विन २०७९, बुधबार १५:५९

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेतनापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भन्दै बृहद् जनआवाज उठिरहेकोप्रति दुःख व्यक्त गरेका छन् ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ,’ बुधबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेको विषयमा एकथरि राजनीतिक दल र नागरिक समाजले असंवैधानिक कदम भन्दै विरोध गरेका छन् भने अर्काथरिले समर्थन गरेका छन् ।

यस्तोमा उपराष्ट्रपति पुनले भने संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । ‘हामीले भर्खर संविधान दिवस मनायौँ । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु,’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *