दलित आन्दोलनले जन्माएका विनोद पहाडी चुनाबी मैदानमा !

समताखबर
  २३ कार्तिक २०७९, बुधबार ०९:२५

रुपन्देही : लुम्बिनी प्रदेशको अस्थायी राजधानी रुपन्देहीको निर्वाचन क्षेत्र नं. ५ (१) मा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारको रुपमा विनोद पहाडी चुनाबी मैदानमा छन् ।

तत्कालिन नेकपा माओबादीले संचालन गरेको १० बर्षे महान जनयुद्धको जगमा भएको  ०६२/६३ सालको १९ दिने जनान्दोलनपछि समाबेशी, समानुपातिक निर्वाचन प्रणालीको बहस चर्किएका बेला समानुपातिक निर्वाचन प्रणालीलाई स्थापित गराउन महत्वपूर्ण भुमिका खेलेका पहाडी अहिले साझा उम्मेदवारको रुपमा चुनाबी मैदानमा होमिएका हुन् ।

संयुक्त चुनाबी अभियानका क्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेवार भरत कुमार शाहसंगै पहाडी मतदाताको घरदैलोमा मत माग्न पुगी रहेका छन् । २०६४ सालमा संविधानसभा सदस्य बनेका पहाडीले संविधान लेखनमा महत्वपूर्ण योगदान पु¥याएका छन् । जसका कारण दलित, महिला, आदीबासी जनजाती, मधेशी, मुस्लिम र अल्पसंख्यक लगाएको आरक्षणको व्यवस्था सुनिश्चित गरिएको छ ।

‘हजारौं शहिदको बलीदानीबाट प्राप्त संघीयतालाई संस्थागत गर्न र संबिधानको कार्यान्वयन गर्दै प्रदेश सरकारलाई जनतासँग जोडेर बृहत्तर विकास गर्नका लागि आफु प्रदेश सभा सदस्य पदका लागि चुनावी मैदानमा होमिएको पहाडी बताउँछन् ।

‘आफुले जीवनकालभर भूइँमान्छेहरुकै हितमा काम गर्दै आएको र उनीहरुको जीवनमा परिवर्तन ल्याउनु मेरो मुख्य जिम्मेवारी हो  त्यसैका लागि म उम्मेदवार बनेको हुँ’ उनले भने । घरदैलो अभियानका क्रममा मतदाताहरुको सकारात्मक प्रतिकृया रहेकोले आफुलाई भारी मतले बिजयी गराउँने समेत उनले बताए ।

को हुन पहाडी ?

२०४६ सालको राजनैतिक परिवर्तनसँगै पहाडी पत्रकारितामा प्रवेश गरेका हुन । २०४४ सालमा अनेरास्ववियू छैठौंमा संगठित हुँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यका रुपमा रहेका छन । पहाडीले नेपाली समाजमा जरा गाडेर बसेको छुवाछुत विरुद्धको आन्दोलन र मानव अधिकारको बिषयमा वकालत गर्दै आएका छन ।

रुपन्देहीको विकासमा पत्रकारिताको माध्यमबाट निरन्तर क्रियाशिल पहाडीले यहाँको विकास दीगो बनाउने कुरामा निरन्तर लागिपरेका व्यक्ति हुन । २०४४ सालमा मेघालय शरणार्थीहरुको पक्षमा आन्दोलन गर्दा गिरफ्तार भई २७ दिनसम्म हिरासत बस्नुभएका पहाडीले नौ वामको राष्ट्रिवादी आन्दोलनमा सरिक भएको भन्दै २०५० मा गिरफ्तार भई ७ दिन हिरासत बस्नुप¥यो ।

२०५२ सालमा जनयुद्ध प्रारम्भ भएपछि फागुनमै गिरफ्तार भई एकसातापछि हिरासतमुक्त भएका थिए । विस २०५३ देखि २०५८ सम्म दुई कार्यकाल नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष, एक कार्यकाल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुभएका उहाँले समाज रुपान्तरण, उत्पीडित समुदायको मुद्धालाई प्राथमिकतामा राखे ।

विस २०२८ सालमा पाल्पाको भुवनपोखरीमा पहाडीको जन्म भएको हो । रामबहादुर नेपाली र आमा साभी नेपालीको कोखबाट जन्मनु भएका पहाडी संघर्षबाटै यहाँसम्म आइपुग्नु भएको हो । रुपन्देहीको सैनामैना, रुद्रपुर, सालझन्डी क्षेत्रमा सामाजिक र राजनैतिक अभियानमा २०४६ सालको परिवर्तनसँगै होमिएका हुन । संविधानसभा सदस्य पहाडीले नै बादी विकास बोर्ड, राष्ट्रिय मुस्लिम आयोग गठन गरिनुपर्ने मुद्धा उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *