
धनगढी : नेकपा एमाले डोटीले भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने घोषणा गरेको छ । जिल्ला कमिटी डोटीले भूकम्पपीडितलाई राहत र उद्दारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । मल्लले बुधबार बिहान भूकम्पपीडितलाई भेटेका थिए। उनले भूकम्पपीडितलाई सहयोग गर्ने विषयमा डोटीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ । भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खट्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।
Leave a Reply