
काठमाडौं । शीतलहर तथा बाक्लो कुहिरोका कारण पूर्वी तथा पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । अत्यधिक चिसोका यहाँको कारण मधेश प्रदेश,लुम्बिनी प्रदेशका बाँके,बर्दिया,दाङ र सुदूरपश्चिम प्रदेशका कैलाली र कंचनपुर जिल्लाको जनजीवन कष्टकर बनेको हो । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् ।
अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो । चिसोका कारण ज्वरो,दम, रुघाखोकीलगायत समस्या देखिन थालेको छ । चिसोका कारण सरकारी तथा निजी अस्पतालमा दम, रुघाखोकी, ज्वरोलगायत श्वासप्रश्वासका बिरामीको चाप बढेको छ । दमका बिरामीहरु थप समस्यामा परेका छन् ।
अत्यधिक चिसो बढेपछि पश्चिम तराईका जिल्ला कैलाली र कंचनपुर जिल्लामा समता मिडिया सेन्टरले सुकुम्बासी शिबिरका विपन्न,गरिब परिवारलाई न्यानो कपडाको बन्दोवस्त गर्न बालबालिका तथा जेष्ठ नागरिक बचाउँ अभियान अन्तर्गत न्यायो कपडा बैंक सुरु गरेको छ ।
चिसोमा सावधानी अपनाउदै तातो झोलिलो पदार्थ पिउने, न्यानोमा बस्ने, आगो ताप्ने चिकित्सकहरुले सुझाव दिएका छन्। जाडोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती, सुत्केरी महिलाले सावधानी अपनाउनु पर्नेमा चिकित्सकले जोड दिए।
Leave a Reply