
बैतडी । लामो खडेरीका कारण बैतडीसहित सुदूरपहाडमा हिउँदेबाली सुक्दै गएका छन् । गत असोजदेखि यहाँ वर्षा नहुँदा हिउँदेबाली सुक्दै गएका हुन्।
४ महिना हुन लाग्दासमेत वर्षा नहुँदा गहुँलगायतका हिउँदेबाली सुक्दै गएका बैतडीको दोगडाकेदार-३ श्रीकोटका जयसिंह धामीले बताए। उनले भने‚ ‘माघ लागिसक्दा समेत यो वर्ष हिउँदे वर्षा भएको छैन।’
समयमै हिउँदे वर्षा नहुँदा गहुँलगायत अन्य हिउँदेबाली सुक्न लागेका छन्। सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको हो। सिँचाइ नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेका छन्।
खडेरीले गहुँबाली सुकेर खेत बाँझै भएका सुर्नयाका केशव भट्टले बताए। गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको भट्टको भनाइ छ।

खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ। खडेरीले खाद्यान्न उत्पादनमा कमी आएर यो वर्ष भोकमरी हुने सम्भावना पनि देखिएको छ।
हिउँदेबालीका साथै फलफूलका बोटबिरूवा पनि सुक्दै गएका छन्। गएको २ दिनदेखि यहाँ मौसम बदलिएको भए पनि वर्षा हुन सकेको छैन।
सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको र यसले उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख मिलन कँडेलले बताए।
बैतडीमा १७ हजार ५ सय हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ। योमध्ये ८ हजार ५ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको छ। थाहाखबरबाट

Leave a Reply