
धनगढी । कोइलाको अभावले आरन व्यवसाय संकटमा परेको छ । पछिल्लो समय कोइला नपाउँदा आरन व्यवसाय संकटमा परेको हो । आरन व्यवसाय संकटमा परेपछि यो व्यवसायबाट जीविका चलाउँदै आएकाहरुको जीवनयापनमा कठिनाई भएको हो ।
पुर्खेउली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका डोटीको के.आई.सिंह गाउँपालिका-४ चन्केसैनका ४६ बर्षिय राम सिं विश्वकर्मा कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका छन् ।

आरन व्यवसायबाटै चार छोराछोरीको पढाई र आमाबुवासहित ८ जनाको परिवार पाल्दै आएका उनी व्यवसाय संकटमा परेपछि चिन्तित बनेका छन् । उनि कोइला नपाउँदा गरिखाने पेसा नै बन्द हुने अवस्थामा पुगेको बताउँछन् । सामुदायिक वनले जङ्गल पस्न निषेध गरेपछि कोइला अभाव हुन थालेको उनले बताए । “सामुदायिक वनमा सुकेका,ढलेका भएनी रुख काट्न पाइँदैन, कोइलाको समस्या भयो”, उनले भने, “अहिले बनमा सडेका,कुहिएका मुडाहरु ल्याएर गुजारा चलाइरहेका छौँ ।”

”आरन व्यवसाय संकटमा परेपछि बोगटान फुड्शिल गाउँपालिका-३ धौला बस्तीका काल्चे लुहारका छोरा रोजगारीका लागि भारतको लुधियाना गएका छन । आरन व्यवसायको भरमा परिवार पाल्न गारो हुँदा छोरा रोजगारीका लागि भारत जानु परेको उनले बताए । “अरु काम गर्न सीप छैन बाबु,बाजेले गर्दै आएको आरन व्यवसायकै भरमा बाच्नुपर्छ”, उनले भने, “अन्य केही सीप भए त्यो काम गरेर खान हुन्थ्यो अरु सीप भएन ।”
आरन व्यवसायको विकल्प नहुँदा पछिल्लो समय रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको डोटीको आदर्श गाउँपालिका-५ लामिखालका भोज लुहारले बताए । उनले भने, “यो पेसा छोडेर गाउँका धेरै मानिस रोजगारीका लागि भारत गएका छन् ।” आरन व्यवसायबाटै घरखर्च सञ्चालन गर्न समस्या हुन थालेपछि भारत जान थालेको उनले बताए ।

स्थानीय सरकारले आरन व्यवसाय जोगाउन खासै चासो नदिएको आरन व्यसाय संचालन गरेकाहरुको गुनासो छ । “यो पेशाबाट राम्रो कमाई गर्न सकिने भएपनि कोइला पाउन मुस्किल भएको केआईसिंह गाउँपालिका-४ चन्केसैनकै लोक बहादुर लुहार बताउँछन् ।”, उनले भने, “कोइला अभावले यो पेसा नै लोप हुने अवस्थामा पुगेको छ ।” दलित समुदायको मुख्य पेसाका रुपमा रहेको आरन व्यवसाय युवापुस्ताले रुचाउन छाडेपछि समस्या भएको उनले बताए ।
कोइला पाउन छोडेपछि गाउँमा दैनिक कृषि काममा आवश्यक पर्ने हँसिया, कुटो, कोदालोलगायत सामान बनाउन समस्या भएको स्थानीय बताउँछन् । कृषिमा उपयोगी सामग्रीका धार साँध्नलाई समेत आरन अत्यावश्यक पेसा हो ।

Leave a Reply