सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

समताखबर
  २५ माघ २०७९, बुधबार १३:४६

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ ।

बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनस् बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वास मत नदिने अडान कायमै राखेपछि आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक सारिएको हो ।

नागरिक उन्मुक्तिको अडानले एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ।  प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेश सभाको बैठकमा नागरिक उन्मुक्तिले साथ नदिने भएपछि प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ। एमाले संसदीय दलका नेता रावल गत पुष २७ गते माओवादी केन्द्रका ११, एमालेका १० , नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *