
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । गाउँपालिका-१ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको हो ।
सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत बागछेडादेखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सोमबार बस छिडिखान पुर्याइएको वडा अध्यक्ष खेम घर्तिमगरले जानकारी दिए ।
बस छिडिखान पुगेपछि स्थानियहरु खुसी व्यक्त गर्दै चालक तथा सहचालकलाइ फुलमालाले स्वागत गरेका थिए ।

बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा सडक सरसफाइ र मोड चौडा बनाउने कार्य गरिएको हो । नियमित बस सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष कमल बहादुर गड्शिलाले बताए ।
अध्यक्ष गड्शिलाका अनुसार केही दिनमै गाउँपालिका मुकाम चवराचौतारासम्म बस पुग्नेछ ।
नियमित बस सेवा सञ्चालनमा आए महँगो भाडा तिरेर जिपमा कष्टकर यात्रा गर्न बाध्य बोगटानबासी लाभान्वित हुनेछन् ।

Leave a Reply