खुटीया किनारमा बालुवा चाल्नेहरुले थाहा नपाएको ‘नारी दिवस’ (फोटो फिचर)

मिलन परियार       २४ फाल्गुन २०७९, बुधबार १०:४३

धनगढी । कैलालीको खुटीया नदी किनारमा बालुवा चालेर दैनिकी चलाउँदै आएकी गोदावरी नगरपालिका-९ धनचौरीकी ५१ बर्षिया नारु थापा एकल महिला हुन् ।

१३ बर्षअघि पतिको अल्पायुमै निधन भएपछि सहारा विहिन बनेकी उनी सधैँ जस्तै आज पनि हातमा बेल्चा र स्टिलको परात लिएर काम गर्न निस्किन् । उनी खुटीया नदी किनारमा दिनभर बालुवा चाल्ने काम गर्छिन् । बालुवा चालेरै उनले चार जनाको परिवार पाल्दै आएकी छन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तपाईले मनाउनु भएन ? भन्ने प्रश्नको जवाफ उनले यसरी दिइन्, ‘एक दिन महिला दिवस मनाएर के गर्नु भोलिदेखि बालुवा नचाली खान पुग्दैन ।’ पेटका लागि काम गर्नैपर्छ । आज दिवस मनाउन गयो भने एक दिनको कमाइ गुम्छ ।’ यस्ता दिवसले हामी जस्ता मजदुरी गरी खाने एकल महिलाको होइन शहरीया महिलाको अधिकार दिलाउँछ उनले सुनाइन ।

धनचौरीकै ६० बर्षिया लाली थापा पनि खुटीया किनारमै बालुवा चाल्ने काम गर्छिन् । उनी पनि विहानै हातमा फलामे कुटो बोकेर खुटीया किनारमा पुग्छिन् । औलामा ठेला परुञ्जेल दिनभर बालुका,गिट्टी छानेर बिताउँछिन् । साझ अबेर घर फर्कन्छिन । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बारे सुनेकी नै छैनन् ।

श्रमिक महिला दिवस बारे जिज्ञाशा राख्दा उनले प्रति प्रश्न गरिन ‘महिला दिवस भनेको के हो ? र भनिन्, ‘हामीलाई बालुवा चाल्ने,गिट्टी छानेर राख्ने बाहेक केही थाहा छैन् ।’ मुक्ति, समानता र स्वतन्त्रताको नारा दिदैं सरकारी तथा गैरसरकारी संस्थाले तामझामसहित हरेक बर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको छ, तर खुटीया किनारमा बालुवा चाल्ने महिला श्रमिकहरुलाई भने दिवस के हो ? कहाँ र कसरी मनाइदै छ भनेर समेत जानकारी नभएको बताउँछन् ।

‘महिला श्रमिकका नाममा हरेक बर्ष शहर बजारमा दिवस मनाइए पनि दिवस महिला श्रमिकमैत्री हुन सकेको छैन ।’ अझै पनि ज्यालामा विभेद हुने गरेको उनीहरुको गुनासो छ । नारुले दिनभर पुरुष सरह नै काम गरे पनि ज्याला समान नभएको बताईन् । बालुवा नचालेसम्म साझ चुलो बल्दैन ठगिए पनि कम पैसा पाए पनि काम गर्न बाध्य छौं उनले भनिन् । उनी जस्तै खुटीया किनारमा ५० बढी महिलाहरु बालुवा चाल्दै आएका छन् । तर उनीहरु भने पुरुषहरु भन्दा ठगिने र कम पैसा पाउने गरेको बताउँछन् ।

तस्बिर : मिलन परियार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *