
डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरी महिलाका लागी एम्बुलेन्स सेवा निशुल्क गरेको छ । आउँदो असार मसान्तसम्म अस्पतालमा सुत्केरी हुन आउने र प्रसुतीका लागि जिल्ला बाहिर रिफर हुने महिलाका लागी एम्बुलेन्स सेवा निशुल्क गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए ।
अध्यक्ष नेपालीले भने ‘संस्थागत सुत्केरीको संख्यामा बृद्धी, आयस्तर कम भएका, सुत्केरी हुन नसकेर उच्च जोखिम भएका महिलालाई राहात स्वरुप अस्पतालले एम्बुलेन्स सेवा निशुल्क गरेको ।’
जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयम ब्यक्तीको आग्रहमा जिल्ला अस्पतालकै एम्बुलेन्सले लिएर आउने ब्यबस्था गरिएको हो । अस्पतालमा सुत्केरी हुने महिलालाई यातायात स्वरुप दुई हजार दुई सय रुपैँया दिईने भएको हुँदा सुत्केरी भइ घर फर्कने महिलाहरुका लागी भने उक्त ब्यबस्था नरहेको अस्पतालले जनाएको छ ।
जिल्लाका ग्रामिण स्थानमा रहेका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा जिल्ला पठाउनु पर्ने महिलालाई उक्त कार्यक्रममले बिशेष राहात पुग्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट निराजन श्रेष्ठले बताए ।


Leave a Reply