सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

समताखबर
  २३ चैत्र २०७९, बिहीबार १२:१६

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो ।

प्रदेशका नौ वटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

प्रदेशभरि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ मात्रै रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए । उनले भने,“रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच अझै छ ।”

प्रदेशमा खोप कम मात्रामा आएकाले यो समस्या देखिएको जोशीको भनाइ छ । उनले भने, “खोप बढी मात्रामा आयो भने सबैलाई लगाउँछौँ ।” प्रदेशमा हाल कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ । पचपन्न वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको छ । उनीहरुका लागि ८९ हजार डोज खोज उपलब्ध रहेको जोशी बताए ।

सुदूरपश्चिममा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरु गरिएको थियो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण अधिकांश भारतबाट फर्किएकामा रहेकाले जोखिम बढेको छ ।

सीमानाकामा हेल्थ डेस्क स्थापनाका साथै अनिवार्य कोरोना परीक्षण गराउने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । प्रदेशसमा हालसम्म छ लाख ४७ हजार सात सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ६१ हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *