अर्थतन्त्र लयमा फर्काउन सरकार लागि परेको छ : प्रधानमन्त्री

समताखबर
  २८ चैत्र २०७९, मंगलवार १६:०१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औंँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताए । ‘‘ सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई गति दिनेतर्फ केन्द्रित हुन्छ । पछिल्ला दिनहरुमा केही सकारात्मक सङ्केतहरु पनि देखिन थालिसकेका छन् ।’’,

प्रधानमन्त्री दाहालले भने, ‘‘मेरो तेस्रो कार्यकाल मुलुकको समग्र आर्थिक अवस्थाका हिसाबले निकै चुनौतीपूर्ण छ र यो चुनौतीलाई सामना गर्ने अवसरका रुपमा पनि मैले हेरेको छु ।’’ नयाँ संविधान निर्माणपछि आर्थिक रुपमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण त्यो सम्भव नभएको दाहालले बताए ।

‘‘हाम्रो अर्थतन्त्रले भूकम्पको नराम्रो धक्का खायो । त्यसपछि कोभिड– १९ महामारीको कारण विश्वव्यापी रुपमा देखिएको सङ्कटको असर देखियो । राजनीतिक उतारचढाव र अस्थिरताको असर पनि परेको छ । रुस–युक्रेन युद्धको असर अझै देखिइरहेको छ’’, उनले भने ।

सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइकन आर्थिक सुधार गर्न नसकिने भएकाले अहिलेको सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै त्यस्तो निर्णय गरेको उनको भनाइ छ । ‘‘अर्थतन्त्रको अहिलेको दबाब निजी क्षेत्रको सहयोगबिना सामना गर्न सकिँदैन भनेर सरकारले पहिलो निर्णयबाटै सहकार्य अघि बढाएको छ । यो बीचमा धेरै बैठक र अन्तरक्रिया भएका छन्’,’ प्रधानमन्त्री दाहालले भने,‘‘निजी क्षेत्रबाट धेरै सुझाव सरकारले लिएको छ ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग पनि प्रधानमन्त्रीका रुपमा मैले धेरै नै छलफल गरेको छु, तर अपेक्षित रुपमा सुधार नभएकै हो । ’सरकार अहिले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम निर्माणका क्रममा रहेकोले तरलता अभाव समस्या, न्यून राजस्व, रेमिट्यान्सलगायत विभिन्न आर्थिक सूचकहरुलाई कसरी सुधार्दै जाने भन्नेबारे गम्भीर रुपमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *