पीडित परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सहमति

समताखबर
  ३० चैत्र २०७९, बिहीबार ०९:५६

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित माला खेती अस्पतालमा सुत्केरी र नवजात शिशु मृत्यु प्रकरणका पीडित परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

छानबिन समिति र पीडित पक्षबिच भएको छलफलमा मृतकका परिवारलाई किरिया खर्च स्वरूप पाँच लाख रुपियाँ क्षतिपूर्ति दिने बुधवार साँझ सहमति भएको समितिको नेतृत्व गर्नु भएका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । उनका अनुसार मृतकका छ वर्षीय छोरालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठन गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

त्यस्तै, चिकित्सकले लापरबाही गरे–नगरेको सत्य तथ्य पत्ता लगाउन फरेन्सिक जाँच गरिने जनाइएको छ । रिपोर्ट आएपछि छानबिन समितिले प्रतिवेदन तयार पार्ने जोशीले बताए । सुत्केरी व्यथा लागेपछि आइतबार माला खेती अस्पताल भर्ना हुनु भएकी गोदावरी नगरपालिका–२ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र उहाँकी नवजात शिशुको सोमबार ज्यान गएको थियो ।

स्वास्थ्यकर्मीको लापरबाहीले सुत्केरी र नवजात शिशुको ज्यान गएको भन्दै मृतकका आफन्तसहित स्थानीय आन्दोलित भएका थिए । पीडित पक्षको माग अनुसार विज्ञ चिकित्सक र पीडित पक्षको एक जनासमेत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेर छानबिनको कार्य अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *