महिलाहरुले मात्र ताने रातो मच्छिन्द्रनाथको रथ

Samata Khabar
  २५ बैशाख २०८०, सोमबार ०९:५३

काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ आज महिलाहरुले मात्र तानेका छन् । ललितपुरको लगनखेलबाट बिहान महिलाहरुले रथ तानेका हुन् । उनीहरुले लगनखेलबाट इटिटोलसम्म रथ पुर्याएका छन् । अब साइत हेराएर रथ तान्दै जावलाखेल पुर्याइने छ ।

एक किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा इटिटोल पुग्दा हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा बसेको हो ।

महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन रथको टुप्पोबाट नरिवल खसाइएको थियो । सो नरिवल पाए शुभ हुने जनविश्वासका साथ नरिवल टिप्न स्थानीयको तछाडमछाड हुन्छ ।

वैशाख शुक्ल प्रतिपदादेखि पुल्चोकबाट मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको थियो । असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएपछि रथयात्रा सम्पन्न हुन्छ । झण्डै दुई महिनासम्म चल्ने रातो मच्छिन्द्रनाथको रथ यात्रालाई नेपालकै सबैभन्दा लामो रथयात्राको रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *