जाडोमा स्वास्थ्यको ख्याल कसरी गर्ने ?

समताखबर
  २९ मंसिर २०८०, शुक्रबार ०९:१३

देशभर जाडो बढिरहेको छ । जाडो बढेसँगै अनेक स्वास्थ्य समस्या हुने गर्दछ । विषेशत: गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भने  धेरै रोगबाट बच्न सकिन्छ।

जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन् । जसका कारण जाडो मौसममा रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेका हुन्छन् । त्यसमाथि पनि कोरोना भाइरसका कारण यो वर्षको जाडोमा हामीले अझै बढी आफ्नो ख्याल राख्न आवश्यक छ । 

जाडोमा विशेषगरी दीर्घ रोग हुनेहरूले ध्यान दिनुपर्छ। त्यसमा पनि बाथ, स्वासप्रश्वास सम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ। जब जाडोयाम सुरू हुन्छ, स्वासप्रश्वासका लागि प्रयोग हुने नलीहरू खुम्चिने गर्छ।

चिसोमौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या

हिउँले खानु

यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ। शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ।यसमा शरीरका मूल भागबाट टाडा रहेका अङ्गहरु खासगरी हातखुट्टाका औला, अनुहार, नाक, कान आदि हिउँले खान सक्छ। त्यसैले शरीरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउनु पर्छ। यदि हिउँले धेरै खाएमा उक्त ठाउँलाई चिरेर फाल्नुपर्ने अवस्था पनि आउन सक्छ।

हाइपोथर्मिया

हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेनहाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ। 

यसको लक्षण तापक्रमअनुसार फरकफरक हुनसक्छ। मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ।

आवश्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ। ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा सिन्थेटिक तथा उनबाट बनेका लुगाहरू उपयोगी हुन्छन्।

फ्लु

फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोग हो।यो ए, बी, सी र डी गरी ४ प्रकारका हुन्छन्। इन्फ्लुएन्जा डी खासगरी गाईवस्तुमा मात्र सीमित देखिएको छ भने सी एकदम सामान्य हुने र महामारीको रूप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ। तर, ए र बी भने हरेक फ्लुको सिजनमा देखिने गरेको पाइन्छ।नेपालमा मनसुन सिजन र जाडो महिनाको सुरुवात र अन्ततिर बढी मात्रामा देखिने गरेको पाइन्छ।स्वाइन फ्लु, हङकङ फ्लु र बर्ड फ्लु फ्लुका उदाहरण हुन्।

संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा संक्रमण हुन्छ। त्यस्तै, संक्रमित व्यक्तिले प्रयोग गरेको सरसामान अर्को व्यक्तिले प्रयोग गरेमा पनि सर्न सक्छ। भर्खरैको एक नयाँ अनुसन्धानले संक्रमित व्यक्तिले श्वासप्रश्वास मात्र गर्दा पनि फ्लु भाइरस सर्ने गरेको देखाएको छ।

फ्लु फैलिसकेको अवस्थामा सकेसम्म सार्वजनिक स्थलहरूमा नजाने, नाक, मुख, आँखामा बारम्बार हात नलाने, संक्रमित व्यक्तिसँग अभिवादन गर्दा हात नमिलाउने, घर फर्केपछि राम्रोसँग हात-मुख साबुन पानीले धुने गर्नुपर्छ। संक्रमित व्यक्तिले हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ। आफू संक्रमित भएको अवस्थामा घरबाहिर नजाने र घरमा बस्दा पनि सकेसम्म घरका अन्य सदस्यभन्दा अलग्गै बसेमा संक्रमण सर्ने सम्भावना कम रहन्छ।

रुघाखोकी

जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ। रुघाखोकी मात्रै होइन योसँगै एलर्जी पनि हुन्छ।

रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिनेगरी मास्क लगाएर हिँड्नु पर्छ। 

साधारण खाले रुघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ। भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालय जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ। साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ। तर रुघाखोकीसँगै नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ। किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन्। बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ।

श्वासप्रश्वाससम्बन्धी समस्या

दिनदिनै चिसो बढ्दै छ। चिसो बढ्दा सबैभन्दा बढी सास्ती रोगी, बुढाबूढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ।

श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको मुख्य कारण वातावरण प्रदूषण, चुरोट-बिंडीको अधिकतम सेवन, चिसो जस्ता मुख्य कारण रहेको छ। साथै बढ्दो सवारी साधनको प्रयोगबाट निस्कने धुवाँ, धुलो तथा भूकम्पपछि भत्केका संरचनाहरुबाट निस्केका धुलोको कणहरु पनि अर्को कारण रहेको विज्ञहरुको भनाइ छ। श्वासप्रश्वास सम्बन्धी रोगहरु दम, ब्रोङकाइटिस, निमोनिया, सिओपिडी आदि हुन्।

यस्ता समस्याबाट बँच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदूषणबाट टाढै बस्ने उचित हुन्छ। साथै धुँवा, धुलोमा सकभर नहिंड्न तथा हिंड्नै परेमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ।

मुटु सम्बन्धी समस्या

कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुन्छ। समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेसी मरेर जान्छ। यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ।

हृदयघात चिसो समयमा देखिने जटिल तथा प्राणघातक रोग हो। हार्डवर्ड मेडिकल स्कुलका अनुसार चिसोले रागतका नसा खुम्चने तथा साँघुरो हुने गर्छ जसले गर्दा हृदयाघातको जोखिमलाई बढाउँछ।

हृदयाघातबाट बच्न चिसोबाट बच्ने, तौल नियन्त्रण गर्ने, चिल्लो-बोसो भएको खानेकुरा नखाने, नियमित शरीरिक व्यायाम गर्नुपर्छ।

कार्वनमनोअक्साइड पोइजनिङ

यो जाडोयाममा मानिसको लापरबाहीले गर्दा देखिने समस्या हो। चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ। तर, कतैबाट हावा नै नछिर्ने गरी बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या देखिन सक्छन् वा मृत्यु नै पनि हुन सक्छ। 

जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो। त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ।

जोर्नी दुखाइ

जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ पनि बढ्न सुरु हुन्छ। चिसोको पारोसँगै दुखाइ पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए हुन्थ्यो जस्तो लाग्छ।

बाहिरी तापमानमा उचावचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ। तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ। जसका कारण जोर्नीहरू कडा र पीडादायी हुन्छन्। 

चिकित्सकका अनुसार चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम गर्नु आवश्यक हुन्छ। तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ। जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ। मेडिकल भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ।

सुख्खा छाला

जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो। छालाका लागि जाडो अनुकूल समय होइन। यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ।

जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ। यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा कम भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ। यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तोः अनुहार हात लगायतका भाग बढी सुख्खा हुन्छन्। 

जाडो याममा केही सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ। जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ, खानपानमा विशेष ध्यान दिनुपर्छ। हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ। छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ। बढी सुख्खा भएमा मोइस्चराइजर क्रिम प्रयोग गर्न सकिन्छ।

नोरोभाइरस अर्थात् विन्टर डायरिया

नोरोभाइरस एक प्रकारको बान्ता गराउने भाइरस हो। खासगरी यो जाडो मौसममा देखिन्छ। जाडो महिनामा जति पनि झाडाबान्ताको प्रकोप हुन्छ त्यसको कारण नोरोभाइरस हो, जसले विन्टर डायरिया गराउँछ।

यसको बारेमा नेपालमा प्रयोगशाला जाँच नहुने भएकोले पनि नोरोभाइरसका बारेमा सर्वसाधारणदेखि नीति-निर्मातासम्ममा अन्योल देखिएको छ।

यो संक्रमित व्यक्तिसँग नजिकको संसर्गबाट (मानिसबाट मानिसमा छुँदा सर्ने) संक्रमित खानेकुरा उपभोग गर्दा, संक्रमित समान, वस्तु वा सतह छुँदा) सजिलै सर्ने गर्छ।

यसबाट बच्न खानेकुरा बनाउनुअघि राम्ररी हात धुने, संक्रमित व्यक्तिमा लक्षण देखिन छाडे पनि कम्तीमा पनि २ दिनसम्म काम वा विद्यालयमा नजाने, सकेसम्म एकअर्काले एउटै कपडा वा सामानको प्रयोग नगर्ने, राम्ररी पकाएको खानेकुरा मात्र खाने, संक्रमित व्यक्तिको बान्ता वा त्यो व्यक्ति शौचालय गएपछि राम्ररी हात नधोई भुइँ वा कुनै सतहमा छोएको भए त्यसलाई साबुन पानीले राम्ररी सफा गर्ने।

यसरी गरौं जाडोमा स्वास्थ्यको हेरचाह:

पोषिलो खाना खाने

सामान्य खानेकुराहरूमा जे पनि खान सकिन्छ । तर, जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, तारेको खाना खान उपयुक्त हुँदैन । त्यस्तै चिनी पनि कम गर्नुपर्छ, तर भिटामिन बी, सी, डी र ई भएका खानेकुरा खानामा समावेश गर्नुपर्छ । पर्याप्त मात्रामा तातो झोल, झोलिलो कुरा, सुप, अण्डा, माछा, मासु, सागपात, मौसमी फलफूल, गेडागुडी, तरकारी, पिस्ता, काजु, ओखर, एभोकार्डो, कागती, मौसम, सुन्तला जुनार, स्ट्रेबरीजस्ता चिजबिज प्रशस्त मात्रामा खानुपर्छ । तर, कुनै विशेष किसिमको रोग छ भने खानेकुरामा पनि ध्यान दिनुपर्छ । जस्तैः बाथको बिरामीले प्रोटिन भएको खाना थोरै खानुपर्छ । कतिपय बिरामीले सागसब्जी खानु हुँदैन । बिरामी भएकाहरूले के खाने,के नखाने भन्ने कुरा चिकित्सकले दिने सल्लाहमा भर पर्छ ।

प्रशस्त पानी पिउने

जाडोमा त्यति पानी प्यास लाग्दैन । किनकि चिसो मौसममा हाम्रो शरीरले पानीको आवश्यकता महसुस गर्दैन । तर पनि स्वास्थ्यका लागि जाडोमा पनि पानी प्रशस्त पिउनु आवश्यक हुन्छ । शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ । सकेसम्म मनतातो पानीको प्रयोग गर्नु उत्तम हुन्छ । जाडोमा छालालाई सुन्दर राख्न तथा शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पानीले ठूलो मद्दत पुर्याउँछ ।

सक्रिय रहने

जाडो छ भनेर हिँड्डुल, व्यायाम तथा कुनै पनि शारीरिक काम गर्न अल्छी मान्नु हुदैन । यसो गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । जाडोमा खाना बढी रुच्छ तर शारीरिक श्रम गरेनौं भने हामीले खाएका खाना शरीरमा जम्मा भएर बस्छ र त्यसले तौल तथा मोटोपना बढाउँछ । चिसोमा बाह्य सम्पर्क कम हुने भएकाले डिपे्रसनसमेत हुने खतरा हुन्छ । त्यसकारण घाम लागेका बेला बाहिर निस्कन र घुमफिर गर्ने यसले मानिसलाई सक्रिय र फूर्तिलो बनाउँछ । तर, मौसम हेरेर व्यायाम गर्ने गर्नु पर्छ । चिसो हावा र पानी परेका बेला घरबाहिर व्यायाम गर्न निस्कनु हुँदैन । मौसमलाई ख्याल नगर्दा विभिन्न जोखिमको सामना गर्नुपर्ने हुन सक्छ । मौसमबारे सतर्कता अपनाउनु पर्छ र व्यायाम गर्दा शरीरलाई न्यानो बनाउने कपडा लगाउनु पर्छ ।

त्यस्तै दीर्घरोग–दम, मुटु रोग, उच्च रक्तचापको औषधि लिने मानिसहरुले भने बिहान सबेरै र राति हिँड्नु हुँदैन । बिहान र रातिको तापक्रम घटेको हुन्छ । त्यस्तो बेला स्वासनली र रक्तनलीहरू पनि खुम्चिने हुन्छ । स्वासनली खुम्चिएपछि स्वासप्रस्वासमा समस्या हुन्छ । यस्तो बेलामा मस्तिष्कमा अक्सिजन पुग्दैन जसले गर्दा मान्छे बेहोस हुन्छ । यस्ता बिरामीहरूले हिँडडुल गर्दा ध्यान दिनुपर्छ ।

मद्यपान धुम्रपान त्याग्ने

जाडो मौसममा मुटुमा हुने असरलाई मद्यपान तथा धुम्रपानले झन् बढाउने हुनाले मद्यपान र धुम्रपान गर्ने बानी त्याग्नु राम्रो हुन्छ  । हामीले हाम्रो शरीर आफूखुसी नै चलाइरहेका हुन्छौं । आफ्नो शरीरले कति थेग्ने, कति नथेग्ने भन्ने पनि हुन्छ । रक्सी खानै हुँदैन भन्ने होइन । मुटुका रोगीहरूले समेत ६० एमएलसम्म रक्सी खान सकिन्छ भन्ने विश्वव्यापी रूपमै स्थापित छ ।

बिहानको घाममा बस्ने

जाडोमा बिहानीको घाममा बस्नु एकदमै राम्रो हुन्छ । बिहानको घाममा भिटामिन डी पनि प्राप्त हुन्छ । यसले दमका दीर्घरोगीलाई समेत सहयोग गर्छ । सँगै हड्डीको लागि पनि सहयोग पुग्छ । तर दिउँसोको घाममा बस्दा भने ख्याल गर्नुपर्छ । दिउँसोको घाममा बस्दा औद्योगिकीकरणले गर्दा जतासुकै रसानय भइरहेको हुन्छ भने रेडियसनको पनि डर हुन्छ । घाममा हुने किटाणुहरू हानिकारक हुन्छन् । त्यस्तो अवस्थामा घाममा बस्नु छ भने सन स्क्रिन क्रिमहरू लगाएर बस्नु बुद्धिमानी हुन्छ ।

घरमा ढुसी उम्रिन नदिने

चिसोका कारण हामी घरका झ्याल–ढोका प्रायः बन्द राख्छौं । जसका कारण कोठामा हावा छिर्न पाउँदैन र घाम नपर्ने भागमा ढुसी उम्रिन सक्छ । यस्ता ढुसीले रुघाखोकी लाग्ने, नाक चिलाउने, आँखा चिलाउने जस्ता एलर्जीका समस्या हुन सक्छ । यसकारण घरमा बेलाबखत झ्याल–ढोका खोलेर घरमा हावा तथा घाम छिर्न दिनुपर्छ । साथै सफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

जथाभावी औषधि नखाने

अहिले सजिलै सामान्य रोगको औषधि किन्न पाइन्छ । एन्टिबायोटिक जहाँबाट पनि बेचिरहेको हुन्छ । रुघा लागेको बिरामीले २,३ वटा एन्टिबायोटिक खाएकै हुन्छ । तर, हामीले बुझ्नु पर्ने कुरा के हो भने एन्टिबायोटिक मात्रै उपचार होइन ।

भाइरलको संक्रमणमा एन्टिबायोटिकको केही पनि भूमिका हुँदैन । एन्टिबायोटिक खानै पर्दैन । भाइरलको संक्रमणमा गर्ने भनेको आराम हो । शरीर धेरै दुख्यो भने प्यारासिटामोल खाने । हामीले आफूखुसी औषधि खान पर्यो भने प्यारासिटामोल मात्रै खाने । त्यो पनि बढीमा दिनमा ३ चक्की खाने । 

त्योभन्दा माथिको औषधि कुनै पनि खान पर्यो भने चिकित्सकको सल्लाहबिना खानु हुँदैन । किनभने औषधिको पनि आफ्नै असरहरू हुन्छ । यसले गर्दा कतिलाई एलर्जी हुन्छ भने कतिको ज्यानै जान सक्छ । त्यसैले जथाभावी एन्टिबायोटिक प्रयोग गर्यो भने त्यही एन्टिबायोटिकले पछि काम नगर्ने पनि हुन सक्छ ।

चिसोबाट बच्ने उपाय

-खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने
-ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने
-तुलसी, अदुवा, महको नियमित सेवन गर्ने
-घाम ताप्ने, तेलले मालिस गर्ने
-बाक्ला, उनीका लुगा लगाउने
-छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *