डोटीमा सुरक्षित गर्भपतन गराउँने बढे

मिलन परियार
  २ पुष २०८०, सोमबार ०९:१८

डोटी । डोटी जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउँने महिलाको संख्या बढ्दै गएको छ ।
सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले कानूनी मान्यता दिएपछि अहिले जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या बढेको हो । सुरक्षित गर्भपतन सेवालाई सरकारले २०५९ असोज १० गते कानूनी मान्यता दिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत सूर्य विष्टले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७९/०८० मा निशुल्क सुरक्षित गर्भपतन लिने महिलाको संख्या एक हजार ९ जना रहेको छ । जसमा २० बर्ष मुनीका ३९ जना र २० बर्ष माथीका ९ सय ७० जना रहेका छन् । चालु आर्थिक बर्षको कार्तिक मसान्त महिनामा मात्र जिल्लाभरीका स्वास्थ्य संस्थाबाट तीन सय ३२ जना महिलाले निशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँदै आएका जिल्लाका ३६ वटा स्वास्थ्य संस्थाहरु मध्ये सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिका र सबैभन्दा कम पूर्वीचौकी गाउँपालिकाबाट सेवा लिएको स्वास्थ्य कार्यालय डोटीको तथ्यांकमा उल्लेख छ
पछिल्लो समय मेडिकल तथा औषधी पसलहरुमा बिक्रि हुने गर्भपतन गराउँने औषधीको प्रयोग गर्नेहरु पनि धैरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

डोटीको शिखर नगरपालिका ९ उच्चाकोटस्थित दानकोट स्वास्थ्यचौकीकी सिनियर अनमी सिता जोशीले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा हेर्न नहुने बताईन् । उनका अनुसार, “श्रीमान श्रीमती दुबैको पहिलो रोजाई परिवार नियोजनको साधन हुनुपर्छ,तथापी सुरक्षित गर्भपतन सेवा लिनै परे तालिम प्राप्त स्वास्थ्यकर्मी र सुचिकृत स्वास्थ्य संस्थाबाट मात्रै लिनुपर्छ ।” गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिन नहुने सुझाउँदै सिनिएर अनमी जोशीले
गर्भपतन सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्यकर्मीले विश्वास दिलाउन सक्नुपर्ने बताईन् ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका अधिकांश पुरुषहरु छ महिना एक बर्षमा घर फर्कने र श्रीमतीसंग शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग नगर्ने गरेका कारण यहाँका महिलाले अनिच्छित रुपमा रहेको गर्भलाई गर्भपतन गर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

घरेलु जटिबुटी प्रयोग गरेर गरिने असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा गम्भिर समस्या निम्त्याउनुका साथै अकालैमा ज्यानै समेत जान सक्ने हुँदा निशुल्क गर्भपतन सेवाले मातृमृत्यु दरमा कमी आएको मौवा नगरदह स्वास्थ्यचौकीकी सिनियर अनमी यशोदा ओझाले बताईन् ।

जिल्लाको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्यचौकीमा पनि सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या बढेको छ । ओझाका अनुसार गत आर्थिक बर्ष ०७९/०८० मा ७० जना महिलाले स्वास्थ्यचौकीबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
मौवा स्वास्थ्यचौकीमा २०७२ मंसिर १३ गतेदेखी सुरक्षित गर्भपतन सेवा सुरु भएको र सेवा सुरु भएसंगै गर्भपतन सेवा लिन आउनेको संख्या बढेको सिनियर अनमी ओझाले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *