मृत्यु कुरेर बसेका गाउँ

समताखबर
  ३ पुष २०८०, मंगलवार १६:२१

बागलुङ । यो मर्दै गरेका गाउँका कथा हो। बसाइँ सराइका कारण रित्तिएका गाउँहरू । बनमाराले ढपक्कै ढाकिएका खेतीयोग्य जमिनहरूको कथा हो। वरपरका रुख बिरुवा बढेर छेकिन थालेको गाउँहरू । आफ्नै भूमिमा मृत्यु कुरेर बसेका बुढापाकाहरू मात्र बोकेर आफै मृत्युशय्या पुगेको गाउँको कथा । यो बागलुङका गाउँका कथा हो । 

युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँ बस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् । सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । 

विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन्। बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ। बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन्। केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन्।

गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको काठेखोला गाउँपालिका–१ का लक्ष्मण थापाले बताए । पाँच वर्ष पहिलेसम्म जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उनको भनाइ छ। हरेक वर्ष गाउँबाट बजार झर्नेको सङ्ख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उनको गुनासो छ। विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले वासस्थान बनाउन थालेको बताए । रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ। बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उहाँले बताए ।

जैमिनी –५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी व्यहोर्नु परेको बताए । धेरै मान्छे बसाइँ सराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै सङ्ख्यामा मात्रै मान्छे रहेको उनको भनाइ छ। गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोखे। बालीनाली जोगाउन एक/दुई जना कुरुवा अनिवार्य राख्नुपर्ने उनले बताए । 

उनले भने, “हिउँद बर्खा बाह्रै महिना बाँदर लाग्छ, कुरुवा नबस्ने हो भने एक छिनमा सबै बाली नष्ट गरिदिन्छ, बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतङ्क निकै बढ्यो, बूढाबूढीलाई कोपर्न, चिर्थोन समेत आउने गरेको छ, बाँदरले हामीलाई निकै समस्या बनायो, सुरुसुरुमा बाँदर धपाउने बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे, घरको आँटीमै आएर बस्छ, अन्नपात निकालेर खाइदिन्छ, साँझ आउँदा केही बाँकी राख्दैन।”

जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतङ्क बढ्दो छ । बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जङ्गलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले जानकारी दिए । पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाए ।

“बाँदर आतङ्क रोक्नका लागि पालिकामा धेरै पटक छलफल भएको छ, अहिले यसरी बाँदर आतङ्क बढेको मान्छेहरूले गाउँ छाड्नु प्रमुख कारण हो, अब गाउँपालिकाले जङ्गलमा फलफूलको बिरुवा रोप्ने र जङ्गलमै बाँदर भुलाउने खालको योजना बनाएका छौँ”, उनले भने, “विज्ञहरूसँग पनि बहस गरिरहेका छौँ, सुझाव लिइरहेका छौँ, ढिलो चाँडो उपाय निस्किन्छ, त्यसपछि हामीहरू नियन्त्रणमा लाग्छौँ।”

पालिकाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *