नुवाकोटको विदुर, जहाँ बिहानैदेखि मानिसको चहलपहल हुन्थ्यो, अहिले सुनसान छ। बजार भएको ठाउँ बगरमा परिणत भएको छ। घर भएका ठाउँमा माटोका थुप्रा छन्। आँगनमा भोटेकोशीको भेलले छोडेका ठूलाठूला ढुंगा, काठ र फोहोर थुप्रिएका छन्। कतै भत्किएको भित्ता छ, कतै छानो छैन। कतै घरको एउटा कुनो मात्रै बाँकी छ, जहाँ उभिएर परिवारका सदस्यहरू आफ्नो विगत खोजिरहेका छन्।
भदौ १० गतेको विनाशकारी बाढीले घर मात्रै बगाएको छैन। मानिसको जीवनको त्यो हिस्सा पनि बगाएको छ, जुन फर्काएर ल्याउन सकिँदैन। कुनै घरमा बाबु छैनन्, कुनैमा आमा। कतै श्रीमान्को खबर छैन, कतै श्रीमतीको। कतै छोराको पर्खाइमा आमा ढोकातिर हेरेर बसेकी छन्। कतै बाबु हराएको खबर सुनेर बच्चा अझै पनि ‘बाबा कहिले आउनुहुन्छ ?’ भनेर सोधिरहेको छ। तर भरपर्दो जवाफ दिने कोही छैन।
महाविपद्का बेला गाउँमा सबैभन्दा गाह्रो कुरा मृत्युको खबर सुन्नु मात्रै होइन रहेछ। सबैभन्दा पीडादायी त त्यो अनिश्चितता रहेछ, जहाँ मानिस न मरेको पुष्टि हुन्छ, न जिउँदो भएको खबर आउँछ।
परिवारका सदस्य हराएका मानिसहरू हातमा मोबाइल बोकेर बसेका छन्-फोन आउला कि भनेर, कसैले खबर ल्याउला कि भनेर, उद्धार टोलीबाट नाम सुनिएला कि भनेर, अस्पतालमा भेटिएला कि भनेर। हरेक अपरिचित अनुहारतिर उनीहरूको आँखा दौडिन्छ। समय बित्दै जान्छ, तर प्रतीक्षा झन् कठोर बन्दै जान्छ। यसको पीडा भोग्नेलाई जति थाहा हुन्छ, देख्नेलाई त्यति कहाँ हुन्छ र ?

धेरै आमाको आँखा अझै ओभाएका छैनन्। आँसु रोकिएको छैन। बरु ओठमुख सुकेका छन्, तर आँखाको आँसु सुकिसकेको छैन। उनी नरोएको दिन छैन। सायद उनको आँखाको आँसु अब बाँचुञ्जेल कहिल्यै सुक्ने छैन। मोबाइलमा छोराको फोटो खोलेर उनी चुपचाप हेरिरहन्छिन्। कसैले ‘भेटियो ?’ भनेर सोध्दा उनका आँखा रसाउँछन्। छाती पिटेर हिक्का छाड्दै रुन्छिन्।
कसैको घरमा चुलो बलेको छैन। पकाउने भाँडा छ, तर खाने मानिस छैन। बाँचेका मानिसहरू पनि आफू बाँचेको खुसी मनाउने अवस्थामा छैनन्। उनीहरू बाँच्नुको अर्थ खोजिरहेका छन्।
३२ दिनअघि, अर्थात् भदौ १० गतेको त्यो कहालीलाग्दो बिहानले रसुवा, नुवाकोट र धादिङका कैयौँ बस्तीको मुहार एकैपल्ट फेरिदियो। वर्षौँको पसिना सिँचेर उभ्याएका घरहरू, जीवनभरको दुःखले जोडेको सम्पत्ति, खेतबारी र भविष्यका सुनौला सपनाहरू भोटेकोशीको भेलले बगर बनाइदियो। कैयौँले आफ्ना आफन्त सधैँका लागि गुमाए। भेलमा घर, सम्पत्ति र खेतबारी मात्रै कहाँ बगे र, हजारौँ मानिसका जिउने आशाहरू पनि सँगै बगेर गए। सायद ती आशाहरू अब यति सजिलै फर्किने छैनन्। घर गुमाएकाहरूका लागि अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) नै अहिलेको घर हो। उनीहरूका अनुहारमा थकान छ, आँखामा अनिश्चितता छ र मनमा एउटै प्रश्न-अब नयाँ जीवन कहाँबाट सुरु गर्ने ?
राहत बोकेर पुगेँ, पीडा बोकेर फर्किएँ
बाढी प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले महिला पुनःस्थापना केन्द्र (ओरेक) सहितको संयुक्त टोलीमा तरंगिणी फाउन्डेशनको तर्फबाट राहत सामग्रीसहित भदौ १४ गते साँझ नुवाकोटको विदुर पुग्यौँ।
विदुर नगरपालिका–१० गेर्खुटारस्थित श्री सुन्दरी क्युरिनी माध्यमिक विद्यालयको होल्डिङ सेन्टर पुग्दा चारैतिर सन्नाटा र पीडाको बाक्लो तुवाँलो थियो। कसैका अनुहारमा घर नभएको एक्लोपन थियो, कसैका आँखामा आफन्त गुमाएको शोक। एकसरो भिजेको कपडाबाहेक शरीरमा अरू केही बाँकी थिएन।
न ओछ्याउने गतिलो ओछ्यान थियो, न त आफ्नै हातले पकाएर खाने चुलो। उनीहरूसँग पेट भर्ने खाना त थियो, तर त्यसमा आमाको हातको स्वाद थिएन। छानो थियो, तर त्यो छानामुनि सुरक्षित महसुस हुने आफ्नोपनको छहारी थिएन।उनीहरूसँग एउटा शून्य प्रश्न थियो ‘अब हाम्रो जिन्दगी कसरी अघि बढ्ला ?’
यही निराशाबीच होल्डिङ सेन्टरमा बाढी प्रभावितहरूसँगै ओरेक नेपालकी सुलोचना खनाल, लुम नेपालकी सरिता दाहाल, शान्ति फाउन्डेसनकी शान्ति लामा र तरंगिणी फाउन्डेसनकी मनोविमर्शकर्ता निर्मला काफ्ले रात बिताउने निधो भयो।
हामी अस्थायी आश्रयस्थल पुग्दा कसैले गुमाएका आफन्त सम्झिरहेका थिए, कसैले घरको अवस्था। कसैले फेरि कहिले आफ्नो ठाउँमा फर्किन पाइएला भनेर सोचिरहेका थिए। बच्चाहरू नयाँ ठाउँमा अभ्यस्त हुन खोज्दै थिए भने अभिभावकहरू उनीहरूको भविष्यबारे चिन्तित देखिन्थे। दिनभरको यात्राको थकान, उनीहरूमा देखिएको उकुसमुकुस र पिरलोले निदाउन मन के लाग्थ्यो र ? उनीहरूको पीडाको साक्षी बनेर रात बितायौँ।
बिहानै होल्डिङ सेन्टरका महिला र किशोरीहरूलाई सेफ्टी सामग्री, सेनेटरी प्याड, ब्रा–पेन्टी, लगाउने लत्ताकपडा, चप्पल, चामल र खानेकुरा वितरण गर्यौँ। सरकारी राहत बाँड्ने लाइन पनि नजिकै थियो। जो समाजका ‘टाठाबाठा’ थिए, जसको पहुँच थियो र बोल्न जान्थे, उनीहरू राहतको पहिलो लहरमा उभिए। उनीहरू आफ्नो भाग मात्रै होइन, आफ्ना पछाडिका मान्छेको भागसमेत सुरक्षित गर्न तल्लीन थिए। जो निर्धा थिए, सोझा थिए र बोल्न सक्दैनथे, उनीहरू चुपचाप लाइनमा थिए। काखमा दूधेबालक र पेट बोकेकी महिला आफ्नो पालो पर्खेर बसेका थिए।

योभन्दा अझ आँखा बिझाउने दृश्य थियो-केही स्थानमा दलित र गैरदलित परिवारका लागि छुट्टाछुट्टै भान्सा चलाइएको देखियो। कतिपय ठाउँमा दलित परिवारले अरूले खाना खाइसकेपछि मात्रै खाना पाउने अवस्था रहेको जानकारी पनि पाइयो। विपद्को समय थियो। सबैले आफ्नो घर गुमाएका थिए। सबै एउटै अस्थायी आश्रयमा थिए। सबैलाई उस्तै अनिश्चितताले घेरेको थियो। तर पनि दलितहरूमाथि गरिएको जातीय विभेदले नेपाली समाजको चरित्र उदांगो पारेको छ।
दुःखले मानिसलाई नजिक ल्याउनुपर्ने थियो। विपद्ले सबैलाई एउटै पीडामा बाँध्नुपर्ने थियो। तर राहतको लाइनमा उभिँदा, खाना बाँड्दा र अस्थायी आश्रयमा बस्दा पनि विभेद हट्न सकेन। भोटेकोशीको धमिलो पानी र लेदोमाथिका उजाड दृश्यबीच बाढीले रसुवा र नुवाकोटको सर्वस्व बगायो। तर मानिसले बनाएका विभेदका पर्खाल अझै किन उभिएका छन् ? यो प्रश्नले मलाई सताइरह्यो। जुन पर्खाललाई बाढीको भेलले समेत छुन सकेन, बगाएर लैजान सकेन।
एकछिन त भोटेकोशीको भंगालोलेझैँ मन र मस्तिष्क एकैपटक उथलपुथल पार्यो। भूकम्पले पूरै जमिन हल्लाएझैँ मन बेस्सरी हल्लियो। अब नुवाकोट, रसुवा र अन्य प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम सुरु होला। घर बन्नेछन्, सडक बन्लान्, पुल र अन्य संरचना फेरि उठ्लान्। तर विपद्को यो पीडादायी अवस्थामा दलितको आत्मसम्मानमा परेको विभेदको चोट कहिले निको होला ?
सामूहिक आश्रयस्थल र राहत पेट भर्ने अन्न र लगाउने कपडा मात्रै होइन; समान अधिकार र व्यवहार पनि हो। दुःख परेका बेला जातका आधारमा कसैलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गर्नु भनेको बाढीले भन्दा ठूलो चोट उनीहरूको आत्मसम्मानमा पुर्याउनु हो।
बाढी प्रभावितहरूलाई राहत बाँड्न विदुर पुगेकी मलाई यस्तो विभेद देख्नु झन् पीडादायी थियो। बाढीले कसैको घर भत्काउँदा जात सोधेन। कसैलाई बगाउँदा थर सोधेन। कसैको जीवन उजाड्दा धर्म र हैसियत हेरेन। तर सबैलाई राखिएको आश्रयस्थलमा दलितहरूमाथि किन विभेद गरियो ?
बाढीले सोधेन-तिमी कुन जातका हौ ? धर्म सोधेन, धनी-गरिब सोधेन, रङ र रूप पनि हेरेन। तर बाढीमा सबथोक गुमाएर ओत लाग्न आएकाहरूलाई फेरि मानिसबाट अलग्याइएको दृश्यले आँखा बिझायो, मुटु चिरियो।
दुई दिनको विदुर बसाइपछि हामी काठमाडौं फर्कियौँ। तर मेरो मन भने ती हेलाहोचो सहेर अलग्गै बस्न बाध्य पारिएका दलितहरूमै छुटेर आयो।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
‘बाढीले भत्काउन नसकेको जातको पर्खाल’