काठमाडौं । स्तन क्यान्सरको जोखिम, प्रारम्भिक पहिचान र समयमै उपचारबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित ‘पिंकवाक २०२६’ शनिबार सम्पन्न भएको छ।
काठमाडौंको बसन्तपुरस्थित दरबार स्क्वायरबाट बिहान ६ बजे सुरु भएको पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको हो। कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
पदयात्रामा सहभागीहरूले स्तन क्यान्सरसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए। धिमेबाजासहित निकालिएको र्यालीले स्तन क्यान्सरको समयमै परीक्षण र उपचारको महत्वबारे सन्देश प्रवाह गरेको थियो।
कार्यक्रममा सामाजिक अभियन्ता अनुराधा कोइराला, डा.ओजश्वी शेरचन, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री सुमना श्रेष्ठ, संगीतकर्मी कालीप्रसाद बास्कोटा र मिस नेपाल दिपमाला दाहाललगायतले मन्तव्य राखेका थिए।
समापन कार्यक्रममा क्यान्सर केयरका चिकित्सकहरू डा.मदन पिया, डा.सन्ध्या र डा.रश्मीले स्तन क्यान्सरका प्रारम्भिक संकेत, पहिचानको विधि तथा उपचारका विषयमा सहभागीलाई जानकारी गराएका थिए।
पूर्व मिस नेपाल सुगारिका केसीले सञ्चालन गरेको कार्यक्रममा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका व्यक्तिहरूले आफ्ना अनुभव पनि सुनाए। उनीहरूले रोगको समयमै पहिचान र उपचार गर्न सके क्यान्सरलाई पराजित गर्न सकिने सन्देश दिएका थिए।
स्तन क्यान्सरको प्रारम्भिक परीक्षणलाई प्रोत्साहन गर्ने, नियमित स्वास्थ्य जाँचप्रति सचेतना बढाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागी थिए।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा संकलित रकम क्यान्सर प्रभावितहरूको सहयोगका लागि हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई विभिन्न संघसंस्था तथा सहयोगी निकायले साथ दिएका थिए। आयोजकले अभियानमा सहभागी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
स्तन क्यान्सरविरुद्ध जनचेतनाका लागि ‘पिंकवाक २०२६’ सम्पन्न