म्याग्दी । असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा करिब ५५० घरपरिवार प्रभावित भएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोबाट १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ। ३४२ घर जोखिममा परेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी क्षति अन्नपूर्ण गाउँपालिकामा भएको छ। त्यहाँ ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा छन्।
बेनी नगरपालिकामा ३० घर पूर्ण, १४ घर आंशिक क्षति र ४५ घर जोखिममा परेका छन्। मङ्गला गाउँपालिकामा २३ घर पूर्ण, ३२ घर आंशिक क्षति र ३५ घर जोखिममा छन्।
त्यस्तै, रघुगङ्गा गाउँपालिकामा ६ घर पूर्ण, २७ घर आंशिक क्षति र ५३ घर जोखिममा परेका छन्। मालिका गाउँपालिकामा तीन घर पूर्ण, एक घर आंशिक क्षति र तीन घर जोखिममा छन्। धवलागिरि गाउँपालिकामा चार घर पूर्ण, सात घर आंशिक क्षति र २३ घर जोखिममा परेको प्रशासनले जनाएको छ।
बाढीपहिरोमा ५६ गोठ भत्किनुका साथै पुरिँदा २० पशुचौपाया मरेका छन्। अन्नपूर्ण गाउँपालिकाका गिवाङ, पाउद्धार, किन्दु र घिरवाङका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरी शिख र घारमा बनाइएका अस्थायी शिविरमा राखिएको छ।
सडक अवरुद्ध भएपछि विस्थापितका लागि बेनीबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरी उपलब्ध गराइएको छ।
पहिरोमा परी अन्नपूर्ण गाउँपालिकाका पाँच र मालिका गाउँपालिकाका दुई जनाको मृत्यु भएको छ। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका एक–एक जना अझै बेपत्ता छन्।
बाढीपहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय तथा सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि र पशुपक्षीलगायत क्षेत्रमा समेत क्षति पुर्याएको छ। क्षतिको विवरण संकलन भइरहेको र पूर्ण विवरण आएपछि प्रभावित घरपरिवार तथा क्षतिको सङ्ख्या अझ बढ्न सक्ने प्रशासनले जनाएको छ।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित