काठमाडौँ । मनसुन सक्रिय रहँदा सोमबार देशका अधिकांश भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेको छ।
हाल कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस क्रममा पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।
यस्तै, मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा बागमतीका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ। गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
भारी तथा धेरै भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी सूचनामा निरन्तर अद्यावधिक रहन विभागले अनुरोध गरेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो