महाविपत्तिमा प्रधानमन्त्रीको मौनतामाथि प्रदीप परियारको प्रश्न

काठमाडौं । रसुवाको भोटेकोशी आएको विनाशकारी बाढीका कारण देश गम्भीर विपत्तिबाट गुज्रिरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह (बालेन) बाट प्रत्यक्ष सम्बोधन हुनुपर्ने मागसहित प्रदीप परियारले प्रश्न उठाएका छन्।

दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका प्रमुख परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत महाविपत्तिको समयमा जनताले सरकारका कार्यकारी प्रमुखबाट प्रत्यक्ष सम्बोधन, स्पष्ट सूचना र भरोसा खोज्ने बताएका छन्।

उनले देशमा ठूलो जनधनको क्षति भएको, हजारौँको मृत्यु तथा बेपत्ता भएको र धेरै परिवार प्रभावित बनेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीको आवाज अझ महत्वपूर्ण हुने धारणा राखेका छन्।

परियारले यसअघि मधेशमा हिंसा र तनावको अवस्था सिर्जना हुँदा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरी जनतालाई आश्वस्त पारेको प्रसंगसमेत स्मरण गरेका छन्। त्यसलाई उनले सकारात्मक नेतृत्वको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

‘देशको कार्यकारी प्रमुख महाविपत्तिमा पनि बोल्दैन भने, अरू बेला बोलेको के अर्थ ?’ भन्दै उनले प्रश्न गरेका छन्।

उनले प्रधानमन्त्रीलाई अहिले पनि जनताले नेतृत्व र भरोसा खोजिरहेको भन्दै ‘बोल्नुहोस्, जनतालाई सुन्नुहोस् र देशलाई आश्वस्त पार्नुहोस्’ भन्ने आग्रह गरेका छन्।

परियारका अनुसार संकटका बेला नेतृत्वको ठूलो शक्ति सही समयमा जनतासामु स्पष्ट रूपमा बोल्नु र उनीहरूलाई भरोसा दिलाउनुमा हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ