‘दैवी प्रकोप उद्धार कोष’को नाम फेरेर ‘प्रधानमन्त्री विपद् कोष’ राखौँ : जगदिश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले ‘दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् कोष’ राख्न सरकारसँग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै खरेलले विपद्लाई दैवी शक्तिसँग जोड्ने परम्परागत अवधारणा परिवर्तन गर्नुपर्ने बताएका हुन्।

उनले पछिल्ला केही दिनमा भएका विपद्मा २७ जनाको मृत्यु भएको र केही अझै बेपत्ता रहेको उल्लेख गर्दै यस्ता घटना प्राकृतिक तथा मानवीय कारणबाट हुने बताए।

‘विपद् दैवी प्रकोप होइन, प्राकृतिक र मानव सिर्जित हुन्छ। त्यसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् कोष राखौँ,’ उनले भने।

खरेलले यस विषयमा आफूले यसअघि पनि सरकारको ध्यानाकर्षण गराइसकेको बताए।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकारसम्पन्न बनाउनुपर्नेमा समेत जोड दिए। एक जना सहसचिवको नेतृत्वमा मात्र प्राधिकरण सञ्चालन गरेर विपद्का समस्या समाधान गर्न नसकिने उनको भनाइ थियो।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणलाई आवश्यक अधिकार, स्रोत र जनशक्तिसहित सुदृढ गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ