काठमाडौं । सजिएको मण्डप, बाजागाजा, जन्ती र भोजभतेर। विवाह भन्नेबित्तिकै नेपाली समाजमा देखिने परिचित दृश्य यही हो। तर सोमबार चितवनको माडीमा एउटा यस्तो समारोह सम्पन्न भयो, जहाँ न मण्डप सजाइएको थियो, न जन्तीको तामझाम थियो, न भोजभतेर नै। थियो त केवल दुई व्यक्तिको आपसी प्रतिबद्धता र परम्परागत विवाह संस्कारलाई चुनौती दिने संकल्प।
तनहुँका रुपा सुनार र देव सुनारले परम्परागत विवाहको सट्टा ‘सहजीवन प्रारम्भ कार्यक्रम’ आयोजना गरी सँगै जीवन बिताउने घोषणा गरेका छन्। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको आयोजना पार्टीका सचिवालय सदस्य,केन्द्रीय सदस्यहरु र पूर्णकालिन शिविर सदस्यहरु र माडीका स्थानीयहरुको उपस्थितिमा उनीहरूले सहजीवन सुरु गरेका हुन्।
धार्मिक आस्था, साइत, चिना र परम्परागत कर्मकाण्डमा आधारित विवाह संस्कारले पितृसत्तालाई निरन्तरता दिइरहेको आफ्नो बुझाइ रहेको रुपा बताउँछिन्। यही संरचनालाई चुनौती दिन आफूहरूले विवाहको परम्परागत विधि त्यागेर सहजीवन रोजेको उनले समताखबरलाई बताइन्।

‘विवाह संस्थाले पितृसत्तालाई मलजल गरिरहेको छ। यसलाई नभत्काएसम्म महिला मुक्ति सम्भव छैन। त्यसैले हामीले परम्परागत विवाहको सट्टा सहजीवन रोजेका हौँ,’ रुपाले भनिन्।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको चितवनमा केन्द्रीय समिति बैठक चलिरहेका बेला त्यसैको अवसर पारेर सहजीवन प्रारम्भ कार्यक्रम आयोजना गरिएको थियो।
पार्टीका महासचिव आहुतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपा र देवले एकअर्कालाई माला लगाइदिए। सहजीवन संकल्पपत्र समातेर उनीहरूले आपसी प्रतिबद्धता सार्वजनिक गरे।
कार्यक्रममा पार्टीका सबैले दुवैलाई बधाई तथा शुभकामना दिए।

रुपा र देवको यो निर्णय केवल दुई व्यक्तिको जीवनयात्रा सुरु गर्ने घोषणा मात्र होइन, विवाह, परिवार र सम्बन्धलाई समाजले बनाइदिएको परम्परागत ढाँचाभन्दा बाहिरबाट हेर्ने एउटा वैचारिक अभ्यास पनि हो।
विवाहलाई धार्मिक र सामाजिक कर्मकाण्डभन्दा माथि उठाएर समानता, स्वतन्त्रता, आपसी सम्मान र व्यक्तिगत प्रतिबद्धतामा आधारित सम्बन्ध निर्माण गर्न सकिन्छ भन्ने सन्देश उनीहरूले दिन खोजेका छन्।
नेपाली समाजमा स्थापित परम्परालाई प्रश्न गर्नु र आफ्नै जीवनबारे स्वतन्त्र निर्णय लिनु आफैँमा एउटा साहसिक कदम हो। रुपा र देवले रोजेको सहजीवनले महिला मुक्ति, पितृसत्ता र विवाह संस्थाबारे नयाँ बहसको ढोका खोलेको छ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको केही दिनदेखी केन्द्रीय समिति बैठक चलिरहेको माडीमा आइतबार माडीको रातो राजनीति : हिजो र आज सडक संवाद सम्पन्न भएको थियो ।








विवाह संस्थालाई चुनौती दिँदै रुपा र देवको सहजीवन
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास