पितृसत्ताविरुद्ध वैचारिक बिमर्श

पितृसत्ता महिला र पुरुषबीचको असमानता मात्र होइन, मानिसको शरीर, लैङ्गिक पहिचान, यौनिकता, प्रेम र आत्मनिर्णयमाथि नियन्त्रण गर्ने जब्बर सामाजिक ब्यवस्था हो। यसले महिलालाई पुरुषको अधीनस्थ बनाउँछ, यौनिक अल्पसङ्ख्यकको पहिचानलाई अस्वीकार गर्छ र समाजले तोकेको मान्यताभन्दा फरक जीवन बाँच्न चाहनेहरूलाई अपमान, बहिष्करण र हिंसाको सिकार बनाउँछ। जात, वर्ग र लैंगिक पहिचानका आधारमा यो उत्पीडनको स्वरूप अझ जटिल बन्छ। त्यसैले पितृसत्ताविरुद्धको संघर्षलाई महिला र पुरुषबीचको सम्बन्धमा सीमित गर्नु यसको वास्तविक संरचना नबुझ्नु हो।

यही जटिल संरचनामाथि बहस गर्ने पहल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले थालेको छ। काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शनिबार दिउँसो आयोजित ‘निम्छरो पहल : जब्बर पितृसत्ता’ शीर्षकको ‘पितृसत्ता खोजिनिधि सिलसिला–एक’ ले पितृसत्तालाई व्यक्तिगत व्यवहारको समस्याका रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक र राजनीतिक सत्ताका रूपमा बुझ्ने प्रयत्न गरेको छ। तर यस्तो बहसले स्थापित सत्ता सम्बन्धलाई कति चुनौती दिन सक्छ भन्ने मुख्य सवाल हो।

पितृसत्ता घरभित्रको श्रम विभाजनमा मात्र छैन। कसले बोल्ने, कसले निर्णय गर्ने, कसको शरीरमाथि कसको अधिकार हुने, कसले कस्तो पहिरन लगाउने, कसले कसलाई प्रेम गर्ने र कसको पहिचानलाई सामाजिक मान्यता दिने भन्ने प्रश्नमा पनि यो स्थापित छ उपस्थित छ। महिलामाथि थोपरिएको घरेलु जिम्मेवारी, दलित महिलाले भोग्ने जातीय विभेद् फरक लैङ्गिक पहिचान भएका व्यक्तिले भोग्ने बहिष्करण यसका फरक अभिव्यक्ति हुन्। यी अनुभवलाई अलग(अलग समस्याका रूपमा हेरेर पितृसत्ताको समग्र संरचना बुझ्न सकिँदैन।

त्यसैले उत्पीडनका अनुभव सार्वजनिक गर्नु आफैँमा राजनीतिक हस्तक्षेप हो। कलाकार छुल्ठिम डोल्मा गुरुङ, रङ्गकर्मी सरिता साह, क्वियर अभियन्ता रोजन परियार, सहिद परिवारकी सदस्य लक्ष्मी गुरुङ, पत्रकार शीतल तामाङ, शिक्षिका सरु परियार र जेनजी अभियन्ता सरिष्मा थापाले अनुभुतीको उत्पीडन सेसनमा व्यक्त गरेका अनुभुती उनीहरुका व्यक्तिगत पीडामा मात्र सीमित छैन। ती अनुभवले समाजले सामान्य ठानेका व्यवहार, सम्बन्ध र संस्थाभित्र लुकेको असमानतालाई उजागर गर्छन्।

तर पीडाको अभिव्यक्ति सुन्नु र त्यसको कारण बदल्नु फरक कुरा हुन्। उत्पीडितका अनुभवलाई व्यक्तिगत पीडाका रुपमा मात्रै सीमित गर्ने हो भने बहसले सहानुभूति त जन्माउन सक्छ, मुक्ति होइन। अनुभवलाई राजनीतिक विश्लेषणसँग जोडेर त्यसबाट परिवर्तनको बाटो पहिल्याउनु आवश्यक हुन्छ। लेखक तथा अध्येताद्वय जेबी विश्वकर्मा, आनविका गिरी,कुन्साङ र समाजशास्त्री डा.मीना पौडेलका अनुभव तथा विचारलाई यही सन्दर्भमा बुझ्नुपर्छ। पितृसत्ताको अन्त्यका लागि व्यक्तिगत चेतना, सामाजिक सम्बन्ध, सांस्कृतिक मान्यता र राज्यका संरचनामाथि एकसाथ प्रश्न उठाउनुपर्छ।

कविता र कलाले पनि स्थापित मान्यताविरुद्ध प्रतिरोधको भाषा निर्माण गर्न सक्छन्। जात व्यवस्था र पितृसत्ता विरुद्ध लडिरहेका कविहरु कुन्ता शर्मा, राजु स्याङ्तान, अस्मिता बादी, रावत, प्रगति राई र गिलु रातोसका कविताले पितृसत्ताविरोधी कविता वाचन गरे ।

यस पहलको अर्को महत्त्वपूर्ण पक्ष राजनीतिक दलको भूमिका हो। नेपाली राजनीतिमा समानता, मुक्ति र सामाजिक न्यायका भाषण प्रशस्त सुनिन्छन्। तर राजनीतिक संगठनका नेतृत्व, निर्णय प्रक्रिया, श्रम विभाजन र व्यवहारमा पितृसत्ताले कसरी जरा गाडेको छ भन्ने प्रश्न कमै उठाइन्छ। समाज बदल्ने दाबी गर्ने दल आफैँले आफ्ना संरचना र अभ्यासको समीक्षा गर्न नसके समानता फगत भाषणमा मात्रै सिमित रहन्छ । तसर्थ पितृसत्ताविरोधी बहस सृजना गर्ने र अन्त्यका लागि पहल गर्ने प्रमुख दायित्व पनि राजनितिक पार्टीकै हो ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले थालेको यो बहसलाई सकारात्मक पहलका रूपमा लिन सकिन्छ। राजनीतिक दलको पहलमा पितृसत्तामाथि खुला विमर्श हुनु आफैँमा अर्थपूर्ण छ। तर यसलाई अझै देशब्यापी बनाउन जरुरी छ ।

जब्बर पितृसत्तासँग जुध्न निम्छरो पहल पर्याप्त हुँदैन। तसर्थ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले थालेको पितृसत्ता विरोधी खोजिनिधी अभियानले ब्यापकता पाओस ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ