काठमाडौँ। जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा आफूहरूलाई भूमिहीन तथा सुकुम्बासी होइन भन्न नपाइने भन्दै सुकुम्बासीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
शनिबार भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेकी संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावललाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस्तो बताएका हुन्।
जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुम्बासी नठहराउने निर्णय अन्यायपूर्ण रहेको उनीहरूको भनाइ छ। प्रत्येक परिवार भूमिहीन तथा सुकुम्बासी हुनुपरेको कारण, वास्तविक जग्गाको अवस्था, आवास र आर्थिक अवस्थाबारे प्रत्यक्ष संवाद तथा निष्पक्ष स्थलगत छानबिन गरेर न्यायोचित निर्णय गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।
सुकुम्बासीहरूले होल्डिङ सेन्टर खाली गर्ने सूचना तत्काल फिर्ता लिन र वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबर्जस्ती नहटाउन माग गरेका छन्।
त्यस्तै, वैकल्पिक व्यवस्था नगरी भत्काइएका घरटहरा, नष्ट भएका सम्पत्ति र जीविकोपार्जनमा पुगेको क्षतिको निष्पक्ष मूल्याङ्कन गरी उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।
उनीहरूले जुन जिल्ला र स्थानबाट आफूहरूलाई हटाइएको हो, त्यहीँको जिल्ला प्रशासन, सम्बन्धित सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरी समयसीमासहितको कार्ययोजना बनाउन पनि आग्रह गरेका छन्। प्रभावित परिवारसँग सहमति गरेर व्यवस्थापन योजना सार्वजनिक गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ।
सरकारले भने बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारमध्ये सात परिवारको जग्गा भेटिएको जनाएको छ। बाँकी परिवारलाई नागरिकता लिएको स्थानीय तहमा फर्किन र त्यहीँ जग्गाको व्यवस्था गरिदिने आश्वासन दिएको सुकुम्बासीहरूको भनाइ छ।
सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै सुरक्षा निकायसमेत परिचालन गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको आठ महिना बितिसक्दा पनि आफूहरूको उचित व्यवस्थापन नभएको उनीहरूको गुनासो छ। त्यसयता खाना र पानीजस्ता आधारभूत आवश्यकतासमेत सहज रूपमा उपलब्ध नभएको उनीहरूले बताएका छन्।
बोडेस्थित होल्डिङ सेन्टरमा शुक्रबार र शनिबार सहयोगी संस्थाले उपलब्ध गराउँदै आएको खाना पनि बन्द गरिएपछि आफूहरू भोकै बस्नुपरेको पीडितहरूले बताएका छन्।
खोला किनारका बस्तीबाट हटाइएका सुकुम्बासीहरू अहिले आवास र जीविकोपार्जनको समस्यासँगै सामाजिक अपहेलनासमेत भोग्नुपरेको गुनासो गरिरहेका छन्।








सुत्केरी र नवजात शिशुको हवाई उद्धार
शिक्षामन्त्री लिएर झुप्रा खोला पुगिन् सिता बादी
कांग्रेसले ‘हामी तयार छौँ’ अभियानमा प्रतिनिधि खटाउँदै
सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी छ : प्रचण्ड