घरभित्रै असुरक्षित छन् महिला

काठमाडौं । महिला तथा बालिकाका लागि घर नै सबैभन्दा सुरक्षित ठाउँ हुनुपर्ने हो। तर विश्वभर सार्वजनिक भएको एउटा तथ्यले यसको ठीक उल्टो अवस्था देखाउँछ। प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै निकट साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको छ।

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कले महिला तथा बालिकामाथि हुने हिंसाको भयावह अवस्था उजागर गरेको हो। संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन वुमनको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। अर्थात्, दैनिक औसत १३७ जनाले ज्यान गुमाएका थिए।

प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर ८३ हजार महिला तथा बालिकाको जानाजानी हत्या भएको थियो। तीमध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो। पुरुषको हत्यामा भने यस्तो संलग्नता करिब ११ प्रतिशत मात्रै थियो।

महिलामाथि हुने हिंसा र हत्यालाई आकस्मिक घटनाका रूपमा मात्र बुझ्न नहुने प्रतिवेदनले औँल्याएको छ। घरेलु दुर्व्यवहार, धम्की, जबर्जस्ती नियन्त्रण र असमान शक्ति सम्बन्धले हिंसाको जोखिम बढाउने गरेका छन्। पछिल्लो समय साइबर निगरानी, अनलाइन धम्की र निजी तस्बिरको दुरुपयोगजस्ता प्रविधिमा आधारित हिंसाले पनि महिलाको सुरक्षा थप चुनौतीपूर्ण बनाएको छ।

नेपालमा पनि घरभित्रै हिंसाको जोखिम

महिला तथा बालिकामाथि हुने हिंसाको अवस्था नेपालमा पनि चिन्ताजनक छ। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरपछि कुनै न कुनै समयमा शारीरिक हिंसा भोगेका छन्। आठ प्रतिशतले जीवनकालमा यौन हिंसा भोगेको सर्वेक्षणले देखाएको छ।

श्रीमान् वा निकट साथी भएका महिलामध्ये २७ प्रतिशतले उनीहरूबाट शारीरिक, यौन वा भावनात्मक हिंसा भोगेका छन्। अझ गम्भीर पक्ष के छ भने शारीरिक वा यौन हिंसा भोगेका महिलामध्ये ५८ प्रतिशतले सहयोग मागेका छैनन् र आफूमाथि भएको हिंसाबारे अरूलाई समेत बताएका छैनन्।

संयुक्त राष्ट्रसङ्घीय महिला निकायसँग सम्बन्धित सन् २०२६ को मूल्याङ्कन प्रतिवेदनअनुसार नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१/८२ मा लैङ्गिक हिंसाका २१ हजार ६६७ घटना दर्ता भएका थिए। तीमध्ये ८१ प्रतिशत घरेलु हिंसासँग सम्बन्धित थिए।

घरेलु हिंसा, बलात्कार, यौन दुर्व्यवहार, मानव बेचबिखन, बालविवाह, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी र अनलाइन दुर्व्यवहारजस्ता समस्या अझै कायम छन्। सामाजिक प्रतिष्ठा गुम्ने डर, आर्थिक परनिर्भरता, पारिवारिक दबाब, सामाजिक विभेद र न्यायिक प्रक्रियाप्रतिको अविश्वासका कारण धेरै पीडित हिंसाविरुद्ध बोल्नसमेत सकिरहेका छैनन्।

कानुन बने, न्याय अझै टाढा

नेपालको संविधानले महिलाविरुद्ध हुने हिंसा र शोषणलाई निषेध गरेको छ। घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मुलुकी अपराध संहितालगायत कानुनले महिला तथा बालिकामाथि हुने हिंसालाई दण्डनीय बनाएका छन्।

तर कानुनी व्यवस्था र व्यवहारबीच अझै ठूलो खाडल छ। पीडितमैत्री न्यायिक प्रक्रिया, सुरक्षित आवास, निःशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्शको पर्याप्त पहुँच छैन। हिंसापीडितलाई नै दोष दिने, परिवार र समाजबाट मिलापत्रका लागि दबाब दिने तथा दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले न्याय प्राप्तिको बाटो थप कठिन बनाएको छ।

हिंसामा परेका महिला तथा बालिकाले राष्ट्रिय महिला आयोगको निःशुल्क हेल्पलाइन नम्बर ११४५ मा चौबीसै घण्टा सम्पर्क गर्न सक्छन्। यसमार्फत उजुरी, परामर्श, कानुनी सहायता, सुरक्षित आवास र मनोसामाजिक सहयोगका लागि समन्वय गरिन्छ।

मिराबल दिदीबहिनीको स्मृतिमा दिवस

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको ऐतिहासिक सम्बन्ध डोमिनिकन गणतन्त्रका मिराबल दिदीबहिनीसँग जोडिएको छ। सन् १९६० नोभेम्बर २५ मा तत्कालीन तानाशाह राफेल त्रुजिलोको शासनविरुद्ध राजनीतिक गतिविधिमा संलग्न प्याट्रिया, मिनर्भा र मारिया टेरेसा मिराबलको हत्या गरिएको थियो।

उनीहरूको हत्याको स्मरणमा सन् १९८१ देखि महिला अधिकारकर्मीले नोभेम्बर २५ लाई हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन्। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी यस दिनलाई औपचारिक अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्यता दिएको थियो।

यसअघि संयुक्त राष्ट्रसङ्घले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सीईडीएडब्ल्यू) पारित गरेको थियो भने सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरेको थियो।

आजदेखि १६ दिने अभियान

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसकै अवसरमा आजदेखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु हुँदै छ। सन् १९९१ देखि विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको यो अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सरकार, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र समुदायको सामूहिक जिम्मेवारीलाई जोड दिँदै आएको छ।

यस वर्षको अभियानले न्याय सुनिश्चित गर्ने, हिंसापीडितलाई संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने विषयलाई प्राथमिकता दिएको छ। पीडितको आवाज सुन्ने, उनीहरूको अनुभवलाई विश्वास गर्ने र न्यायका लागि आवाज उठाउने सन्देश पनि अभियानले अघि सारेको छ।

हिंसा अन्त्यका लागि कानुन निर्माण मात्र पर्याप्त छैन। त्यसको प्रभावकारी कार्यान्वयन, पीडितको सुरक्षा, न्यायमा सहज पहुँच र विभेदकारी सामाजिक सोचमा परिवर्तन उत्तिकै आवश्यक छ। हिंसालाई पारिवारिक वा निजी मामिला ठानेर बेवास्ता गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म महिला तथा बालिकाका लागि सुरक्षित समाज निर्माण सम्भव छैन। पीडितलाई संरक्षण र दोषीलाई दण्ड सुनिश्चित गर्नु नै हिंसामुक्त समाजको पहिलो सर्त हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ