हुम्ला । हुम्लाका तीन स्थानीय तहका दर्जनौं बस्तीहरूमा टेलिफोन सेवा अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरू सञ्चारविहीन बनेका छन्। खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका बिभिन्न वडामा लामो समयदेखि फोन सेवा ठप्प हुँदा जनजीवनमा प्रत्यक्ष असर परेको छ।
खार्पुनाथ गाउँपालिका–१ का पिउस, बोच्चेगौडा, सुनखाडा र वडा नं. ३ का राया, कारङ्गालगायत बस्तीहरूमा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन्। ‘बिहान, दिउँसो र साँझ फोन नचल्ने, राति मात्रै केहीबेर टावर आउने गर्छ,’ शाहीले भनिन्। राया क्षेत्रको ठाना भन्ने स्थानमा रहेको टावर काम नगरेपछि बस्तीभरिका सेवाग्राही सञ्चारविहीन बनेका छन्।
सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप र उनापानी गाउँमा पनि यस्तै समस्या छ। रीपका विनोद फडेराले भने, ‘वर्षा र मौसम परिवर्तनका बेला आकस्मिक घटना भए पनि फोन गर्न सकिन्न, टावर देखिए पनि फोन लाग्दैन।’ गाउँपालिका केन्द्र सर्केगाडमा समेत ‘नमस्ते’ सेवा काम नगरेको गगन ऐडीको गुनासो छ।
दक्षिणी हुम्लामा रहेको चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा झन्डै एक महिनादेखि टेलिफोन सेवा बन्द छ।
‘फोन गर्न डाँडाकाँडा चढ्नुपर्छ, कतै रुखमा चढ्नुपर्ने अवस्था आउँछ,’ स्थानीयले बताए।
गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूसँग सम्पर्क गर्नसमेत गाह्रो भएको स्थानीय बसुना तामाङको भनाइ छ।
नेपाल टेलिकमले फोरजी टावर निर्माण प्रक्रिया अघि बढाए पनि त्यसले पूर्णता नपाउँदा समस्या यथावत् छ।
गाउँपालिकाको मेलछामस्थित टेलिकमको टावरमा खराबी आएपछि सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए।
‘सञ्चार सुविधा नहुँदा कार्यालयको दैनिक काम ठप्पजस्तै छ, जनताका साना गुनासो सुन्नै गाउँपालिका आउनुपर्ने बाध्यता छ,’ उनले भने।
गाउँपालिकाले निजी कम्पनीमार्फत जडान गरेको वायरलेस इन्टरनेट भरपर्दो नभएको र सामान्य पत्राचार मात्र गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताए।
इन्टरनेट सुविधा प्रभावकारी नहुँदा गाउँपालिकामा प्रस्तावित बैंक शाखासमेत अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
म्याग्दीमा बाढीपहिरोबाट ५५० घरपरिवार प्रभावित