काठमाडौं : स्वतन्त्र दलित नागरिक समाजले मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा भविष्यको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।
शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा समाजले त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह गर्न बाध्य बनाउने अवस्था राज्यको गम्भीर असफलताको परिणाम भएको जनाएको छ।
विज्ञप्तिमा बढ्दो बेरोजगारी, युवामा फैलिएको चरम निराशा, सडक सुरक्षा नीतिको कमजोरी, अवसरको अभाव तथा प्रशासनिक बेथितिले शिक्षित युवालाई निराशाको चरम अवस्थामा पुर्याएको उल्लेख गरिएको छ।
संगठनले कुनै पनि युवाले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सामान्य घटना नभई राज्यको नीतिगत असफलताको संकेत भएको बताएको छ। गणेश नेपालीको निधनले देशभरका हजारौं युवाको पीडा, निराशा र राज्यप्रतिको घट्दो विश्वासलाई उजागर गरेको समाजको भनाइ छ।
विज्ञप्तिमार्फत समाजले गणेश नेपालीलाई शहीद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा परिवारको भविष्यको जिम्मेवारी सरकारले लिन माग गरेको छ। साथै यस्ता घटना दोहोरिन नदिन युवा बेरोजगारी, अवसरको अभाव, सडक सुरक्षा र प्रशासनिक बेथितिका समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरिएको छ।
समाजका संयोजक कर्णबहादुर नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार, राजनीतिक दल, नागरिक समाज तथा न्यायप्रेमी सबै सरोकारवालालाई युवाको जीवन, सम्मान र भविष्य सुरक्षित गर्ने दिशामा ठोस पहल गर्न अपिल गरिएको छ।









लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता