अन्तरलिंगीले पाइन नागरिकता

पर्वत । जिल्लाकाे जलजला गाउँपालिका–७ निवासी दलित समुदायकी अन्तरलिंगीले परिवर्तित नाम अनुसारको नागरिकता प्राप्त गर्न सफल भएकी छन्।

यसअघि जलजला गाउँपालिका वडा नं. ७ को कार्यालयले नाम सच्याउन दिएको निवेदन जिल्ला प्रशासन कार्यालयले इन्कार गरेको थियो। तर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पत्रका आधारमा गाउँपालिका कार्यालयले नागरिकतामा नाम सच्याउन सिफारिस गरेको थियो।

गाउँपालिका कार्यालयको सोही सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले दलित अन्तरलिंगी धनबहादुर दर्जीलाई परिवर्तित नाम अनुसारको नागरिकता प्रदान गरेको जनाएको छ।

जन्मदर्तासहितको सिफारिस, सर्वोच्च अदालतको आदेश तथा आवश्यक कागजातसहित निवेदन प्राप्त भएकाले नागरिकतामा नाम सच्याएर प्रदान गरिएको प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले सिफारिस र सर्वोच्च अदालतको आदेशअनुसार परिवर्तित नाममा नागरिकता जारी गरिएको बताए। “यो नाम परिवर्तनको विषय मात्र थियो, लिङ्ग परिवर्तनको माग गरिएको थिएन,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “त्यसैले परिवर्तित नाम अनुसार नागरिकता जारी गरिएको हो।”
दलित समुदायकि अन्तरलिंगी दर्जीले ‘माया दर्जी’ नाम कायम गरी नागरिकता पाउन माग गर्दै निवेदन दिएकी थिइन्। तर, उनलाई ‘धना दर्जी’ नाममा नागरिकता जारी गरिएको छ। यसअघि वडा सचिव पुजा कुमारी अर्यालले नाम फरक नपरेको भन्दै नाम सच्याउन अदालतको आदेश आवश्यक पर्ने उल्लेखसहित लिखित पत्र दिएकी थिइन्।

वडाको सिफारिस लिएर दर्जी गाउँपालिका कार्यालयमै पुगेकी थिइन्। समावेशी मञ्च नेपालका संस्थापक एवं नेपालमा पहिलो पटक तेस्रोलिंगी पहिचानमा नागरिकता लिएका डिलु बुदुजा (बद्री पुन) ले अन्ततः कानुनी लडाइँको जित भएको बताए। उनले नागरिकतामा नाम सच्याउन शल्यक्रिया नै गर्नुपर्ने बाध्यता नरहेको सन्देश यस निर्णयले प्रवाह गरेको बताए।

उनले यो धना दर्जीको मात्र नभई देशभरका सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पनि विजय भएको प्रतिक्रिया दिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ