धनगढी । खप्तड यातायात प्रालिले धनगढी–काठमाडौं रुटमा यात्रुलाई थप आरामदायी सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ बस सेवा ‘आसन एक्सप्रेस’ सञ्चालनमा ल्याएको छ।
कम्पनीले शुक्रबार धनगढी बसपार्कबाट पाँच वटा नयाँ बसमार्फत सेवा सुरु गरेको हो। एसी सुविधासहितका यी बसमा २×१ सिट व्यवस्था गरिएको छ। नयाँ बसले धनगढीबाट काठमाडौं तथा काठमाडौंँबाट धनगढीसम्म नियमित रूपमा यात्रु ओसार्ने कम्पनीले जनाएको छ।
लामो दूरीको यात्रामा यात्रुको सहजता र आरामलाई प्राथमिकता दिँदै नयाँ सेवा सुरु गरिएको खप्तड यातायातले जनाएको छ। विशेषगरी सिट संरचना, एसी सुविधा र यात्रामैत्री व्यवस्थाका कारण ‘आसन एक्सप्रेस’ले यात्राको अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
सेवाको औपचारिक शुभारम्भ धनगढी बसपार्कमा कथावाचक आचार्य सत्यराज अवस्थीले रिबन काट्नुका साथै हरियो झन्डा देखाएर गरे।
उद्घाटन कार्यक्रममा बोल्दै अवस्थीले यातायात सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता भएको बताए। स्वास्थ्य र शिक्षाजस्तै सुरक्षित तथा गुणस्तरीय यातायात पनि नागरिकका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो। उनले दक्ष चालक र भरपर्दो यातायात सेवाले अन्य सेवा तथा सुविधामा नागरिकको पहुँच सहज बनाउने बताए।
कार्यक्रमका सभापति तथा खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले ‘आसन एक्सप्रेस’ले यात्रुको अपेक्षाअनुसार सेवा दिने दाबी गरे। नयाँ बसमा उपलब्ध सुविधाले लामो दूरीको यात्रालाई तुलनात्मक रूपमा सहज र आरामदायी बनाउने उनले बताए।
नयाँ सेवा सुरु भएसँगै सुदूरपश्चिमबाट काठमाडौं जाने तथा काठमाडौंँबाट धनगढी फर्किने यात्रुले थप सुविधायुक्त विकल्प पाएका छन्।
उद्घाटन कार्यक्रममा विभिन्न यातायात कम्पनीका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, मजदुर संगठनका प्रतिनिधि, सेवाग्राही तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
खप्तड यातायात प्रालिले यसअघि पनि धनगढीबाट काठमाडौंलगायत विभिन्न गन्तव्यमा नियमित यातायात सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले नयाँ सेवामार्फत लामो दूरीका यात्रुलाई अझ सहज र सुविधाजनक यात्रा उपलब्ध गराउने जनाएको छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता