खुल्ला प्रतिस्पर्धाबाट चारवटै सुरक्षा निकायमा नाम निकाल्न सफल, धिराजनले प्रहरी नै किन रोजे ?

काठमाडौं। बर्दियाको बाँसगढीस्थित सामान्य दलित परिवारमा जन्मिएका धिराजन परियारका लागि नेपाल प्रहरीको वर्दी बाल्यकालदेखिकै सपना थियो।

त्यो सपना पूरा गर्न उनले अनेकौँ चुनौती पार गरे, असफलताबाट सिके र अन्ततः मुलुकका चारवटै सुरक्षा निकायमा सफलता हासिल गर्दै आफ्नो रोजाइको नेपाल प्रहरीमा प्रहरी निरीक्षक बन्न सफल भए।

खेतिकिसानि गरेर जिविकाेपार्जन गर्ने कुलबहादुर परियारका माइलो सन्तान धिराजनले उच्च शिक्षा अध्ययनका लागि पोखरा पुगे। तर कक्षा ११ मै तीनवटा विषयमा अनुत्तीर्ण भए। त्यसलाई असफलताको अन्त्य नबनाई उनले पढाइमा थप मेहनत गरे। त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसबाट बीएससी फरेस्ट्री पूरा गर्दै फर्स्ट डिभिजन हासिल गरे।
पढाइसँगै उनको मनमा नेपाल प्रहरी बन्ने सपना भने कायमै थियो।

एकपटक असफल, लक्ष्य भने परिवर्तन भएन
२०८१ सालमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा आवेदन दिएका धिराजन नेपाली सेना र सशस्त्र प्रहरीमा सफल भए।

तर नेपाल प्रहरीमा भने नाम निस्किएन। तर उनले हार मानेनन्। अर्को अवसरका लागि थप तयारी गरे। २०८२/८३ मा खुलेका विभिन्न सुरक्षा निकायका प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुँदा उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत चारवटै सुरक्षा निकायमा सफलता हासिल गरे।

यति धेरै विकल्प हुँदाहुँदै पनि उनको रोजाइ भने नेपाल प्रहरी नै रह्यो। प्रहरी निरीक्षकको नतिजामा उनले खुल्लातर्फ चौथो स्थानमा नाम निकाल्दै बाल्यकालदेखिको सपना पूरा गरे।

‘चारवटै सुरक्षा निकायमा अवसर पाए पनि प्रहरी नै किन रोज्नुभयो ?’ भन्ने प्रश्नमा उनी भन्छन्, “मलाई प्रहरीले गर्ने काम मन परेर हो। निस्वार्थ भावनाले नागरिकको सुरक्षामा दिनरात नभनी काम गर्छन्। नागरिकको सेवा गर्ने ठूलो अवसर नेपाल प्रहरीमा छ।”

कोटाभन्दा खुल्ला प्रतिस्पर्धामा सफलता
धिराजन आफू आरक्षण कोटाअन्तर्गत पर्ने भए पनि प्रहरी निरीक्षकको प्रतिस्पर्धामा खुल्लातर्फ चौथो स्थानमा नाम निकाल्न सफल भए। यसले उनको निरन्तर मेहनत र प्रतिस्पर्धात्मक क्षमतालाई देखाउँछ।

अध्ययन र मेहनतमा लगनशिल धिराजनले फरेस्ट्री अध्ययनका क्रममा स्ववियू सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। नेतृत्व र संवादको त्यो अनुभव आगामी प्रहरी सेवामा उपयोगी हुने अपेक्षा गर्न सकिन्छ।

सामान्य दलित किसान परिवारमा जन्मेका धिराजनको यात्रा असफलतापछि पनि लक्ष्य नछाड्ने युवाका लागि प्रेरणादायी छ। कक्षा ११ मा तीन विषयमा फेल भएका उनी आज नेपाल प्रहरीका निरीक्षक बनेका छन्।

उनको यात्राले एउटा स्पष्ट सन्देश दिन्छ,असफलताले सपना रोक्दैन, यदि लक्ष्यप्रतिको विश्वास र मेहनत निरन्तर छ भने।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ