बाजुरा । सरकारी तथा गैरसरकारी संस्थाहरुबाट सुरक्षित प्रसूतिको अभियान चलिरहे पनि बाजुराका ग्रामीण क्षेत्रमा गर्भवती महिलाले अझै स्वास्थ्य संस्था पुग्नुअघि नै शिशु जन्माउनुपर्ने बाध्यता हटेको छैन।
यसको पछिल्लो उदाहरण हुन्, खप्तड छेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटी। मंगलबार घर फर्किने क्रममा बूढीगङ्गा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा उनले छोरालाई जन्म दिइन्।
प्रसव पीडामा बाटोमै रहेकी कमलाबारे स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए। स्वास्थ्यकर्मीले त्यहीँ प्रसूति गराएर सालनाल व्यवस्थापन गरेपछि आमा र शिशुलाई स्वास्थ्य चौकी पुर्याएका थिए। अहिले दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार कमलाको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच हुँदै आएको थियो। तर माइतीघरमा बच्चा जन्माउँदा देवता रिसाउने भन्ने रूढीवादी मान्यताका कारण प्रसव पीडा सुरु भइसकेपछि पनि उनी स्वास्थ्य संस्था नगई घरतर्फ फर्किएकी थिइन्। माइतीघरबाट घर जाने क्रममा करिब ३ बजे उनले बाटोमै बच्चा जन्माएकी हुन्।
बाजुरामा यस्तो घटना नयाँ भने होइन। यस वर्ष असारयता मात्रै कम्तीमा पाँच महिलाले बाटोमै शिशु जन्माएको विवरण सार्वजनिक भएको छ। साउनमा गौमूलकी कमला बुढाले सडक नहुँदा बाटोमै, स्वामीकार्तिक खापरकी सौरी बुढाले स्वास्थ्य संस्था टाढा हुँदा ओडारमा तथा अनिता महताराले स्ट्रेचरमा स्वास्थ्य संस्था लैजाँदै गर्दा बीच बाटोमै बच्चा जन्माएकी थिइन्।
स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष जिल्लामा १ हजार २२२ महिलाले स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएका थिए भने ३३ जनाले घरमै शिशु जन्माएका थिए।
स्वास्थ्यकर्मीका अनुसार दुर्गम भूगोल, वर्षायाममा सडक अवरुद्ध हुने समस्या, नियमित यातायातको अभाव, स्वास्थ्य संस्था टाढा हुनु र कतिपय स्थानमा कायम रूढीवादी सोचका कारण यस्तो अवस्था देखिएको हो।
स्वास्थ्य अधिकारीहरूले सुरक्षित प्रसूतिका लागि गर्भावस्थादेखि नै नियमित स्वास्थ्य जाँच, प्रसूतिको समयअघि स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था र यातायात तथा स्वास्थ्य पूर्वाधारमा सुधार आवश्यक रहेको बताएका छन्।
फोटो गुगलबाट








रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ हुँदै
बाजुराका महिलाको बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता