दोस्रो जनआन्दोलनपश्चात् नेपालमा समावेशीकरणको आवाज उठ्यो । तत्पश्चात् निजामती सेवालगायत अन्य सार्वजनिक क्षेत्रमा समावेशीकरणको औजारका रूपमा आरक्षणलाई आत्मसात् गरियो । आरक्षणको मुख्य उद्देश्य नै सबै वर्ग, क्षेत्र, लिंग, जातजाति, भाषाभाषी र धार्मिक समुदायका व्यक्तिलाई राज्यका प्रत्येक तह र तप्कामा सहभागिताको सुनिश्चितता प्रदान गर्नु हो । यसको प्रयोगद्वारा पिछडिएका र अल्पसंख्यक समुदायको उत्थान गर्न सकिन्छ । आरक्षणको प्रयोगद्वारा राज्यलाई सबै समुदायको साझा फुलबारी बनाई राज्यप्रति सबै नागरिकको अपनत्व सिर्जना गर्न सकिन्छ ।
सामाजिक द्वन्द्व न्यूनीकरण गर्ने र राष्ट्र निर्माण गर्ने एक औजार हो आरक्षण । विविधतायुक्त समाज व्यवस्थापनको महत्वपूर्ण साधन हो आरक्षण । अहिले नेपालमा आरक्षणको औचित्यबारे चर्चा हुन थालेको छ । केही व्यक्तिको धारणा आरक्षणलाई जरैबाट उखेल्नुपर्छ भन्ने छ भने केहीको धारणा यसमा सुधार गर्नुपर्छ भन्ने छ । कसैको चाहिँ आरक्षणको वर्तमान प्रयोगलाई नै निरन्तरता दिइनुपर्छ भन्ने धारणा छ । सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा दैनिकजसो बहस हुने गरेको छ । आरक्षणका आलोचक यसले गर्दा योग्य र सक्षम व्यक्ति पाखा लागेको, योग्यता प्रणालीलाई यसले तहसनहस बनाएको र अक्षम र अयोग्य व्यक्तिले अवसर पाएको भनी आरोप लगाउँछन् । यसका पक्षपोषकचाहिँ आरक्षण द्वन्द्व व्यवस्थापनको दिगो उपाय ठान्छन् ।
नेपाल १२५ जातजाति र १२३ भाषाभाषी रहेको मुलुक हो । अर्कोतिर नेपालको करिब ८० प्रतिशत क्षेत्रमा दुर्गम र जटिल भूगोल रहेको छ । नेपालका अधिकांश नागरिक विभिन्न धर्मप्रति आस्थावान् छन् । यसर्थ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं विविध भौगोलिक विशेषतायुक्त मुलुक हो । निजामतीलगायत अन्य सार्वजनिक सेवामा प्रवेश गर्न भाषाको ठूलो महत्व रहन्छ । करिब १२३ फरक–फरक मातृभाषा रहेको मुलुकमा दोस्रो भाषाका रूपमा सिकेको नेपाली वा अंग्रेजी भाषाको माध्यमबाट लोकसेवामा प्रतिस्पर्धा गरी उत्तीर्ण हुनु कठिन छ । नेपाली भाषा मातृभाषा हुनेले लोकसेवामा सहजै नाम निकाल्न सक्ने र मातृभाषा भिन्न हुनेलाई लोकसेवामा नाम निकाल्न कठिन हुने भएकाले पनि नेपालमा आरक्षणको आवश्यकता देखिन्छ ।
आरक्षण सुविधा प्राप्त गरिरहेका समुदायभित्र पनि उच्चावस्था र न्यूनावस्थाका समुदाय पहिचान गरी लक्षित वर्गभित्रै कोटा निर्धारण गर्न सकिन्छ
विभिन्न धर्म र संस्कृतिका कारण नेपालमा अझै लैंगिक विभेदको अवस्था काममै छ । धैरै महिला आजको समयमा पनि घरायशी चुलोचौकोमै सीमित देखिन्छन् । बच्चा जन्माउने, हुर्काउने र स्याहारसुसार गर्ने दायित्व महिलाका काँधमा छ । पुरुषको तुलनामा बढी पारिवारिक दायित्व महिलाले नै व्यहोर्नुपर्ने हुँदा खुला प्रतिस्पर्धात्मक परीक्षा पुरुषको तुलनामा महिलालाई कठिन हुन जान्छ । तसर्थ, महिलाका लागि पनि अझै आरक्षणको सान्दर्भिकता देखिन्छ । नेपालमा धेरै जातजाति लामो समय विभेद र वञ्चितीकरणको सिकार भए । राज्यको निर्णायक तहमा उनीहरूको कहिल्यै प्रतिनिधित्व भएन । शिक्षा र चेतनामा उनीहरूको अवस्था कमजोर रह्यो । बिस्तारै समय क्रमसँगै उनीहरूमा पनि शिक्षा र चेतनाको विकास हुँदै गरेको भए पनि अझै प्रतिस्पर्धात्मक क्षमताको पूर्ण विकास भइनसकेको हुँदा दलित समुदायलाई समेत अझै आरक्षणको आवश्यकता देखिन्छ ।
नेपाल भौगोलिक विविधतायुक्त मुलुक हो । मुलुकको अधिकांश भूभाग दुर्गम र जटिल रहेको छ । अझै मुलुकको कतिपय दुर्गम हिस्सामा शिक्षा, स्वास्थ्य, यातायातलगायत सेवा–सुविधा पुग्न सकेका छैनन् । दुर्गम क्षेत्रमा चेतनाको स्तरसमेत कमजोर देखिन्छ भने गरिबीको दर पनि उच्च छ । त्यस्ता क्षेत्रमा बसोवास गर्ने नागरिकको प्रतिस्पर्धात्मक क्षमता सुगम क्षेत्रमा बसोवास गर्ने नागरिकको भन्दा निःसन्देह कमजोर हुन्छ । तसर्थ, त्यस्ता पिछडिएका भूगोलमा बसोवास गर्ने नागरिकका लागि पनि आरक्षणको आवश्यकता देखिन्छ नै । यसर्थ नेपालमा रहेको जातीय, धार्मिक, क्षेत्रीय एवं भाषिक विविधताले गर्दा आरक्षण अझै आवश्यक रहेको देखिन्छ ।
के वर्तमान आरक्षण नीतिमा सुधारको आवश्यकता छ त ? यस विषयमा पनि चर्चा गर्नु सान्दर्भिक देखिन्छ । आरक्षणको उद्देश्य नै गरिबी र वञ्चितीकरणको अवस्थामा रहेका जनसमुदायको उत्थान गरी मुलुकलाई सबै समुदायको साझा फूलबारीका रूपमा परिणत गर्नु हो । आरक्षणको सुविधा कुनै अमुक जातजाति, वर्ग, क्षेत्र र लिंगको प्रभुत्व वर्गले मात्र उपभोग नगरोस् भन्ने अभिप्रायले यसलाई समयसापेक्ष सुधार गर्नु आवश्यक छ । आरक्षण सुविधा लक्षित वर्गको जरैसम्म पुगी यसको औचित्य पुष्टि हुनुपर्छ । यसका लागि विभिन्न तरिकाले वर्तमान आरक्षण नीतिमा सुधार गर्न सकिन्छ ।
वर्तमान आरक्षण नीतिलाई सुधार गर्दै एकजना व्यक्तिले एकपटक मात्र आरक्षण सुविधाभोग गर्न पाउने व्यवस्था गर्न सकिएमा धैरैभन्दा धैरै व्यक्तिलाई आरक्षणको सुविधा दिलाउन सकिन्छ । त्यस्तै एउटा परिवारमा एकजनालाई मात्र आरक्षणको सुविधा दिने हो भने पनि यसको सुविधा हासिल गर्ने परिवार संख्या बृद्धि गर्न सकिन्छ । हाल आरक्षण सुविधा प्राप्त गरिरहेका समुदायभित्र पनि उच्चावस्था र न्यूनावस्था भएका समुदायको पहिचान गरी सोहीबमोजिम लक्षित वर्गभित्रै कोटा निर्धारण गर्न सकिएमा आरक्षण प्रणालीलाई अझ वैज्ञानिक बनाउन सकिन्छ । आरक्षणको सुविधाभोग गर्ने वर्ग, समुदायलाई आवश्यक शिक्षा र चेतना प्रवाह गरी आरक्षणबारे सचेत र जानकार बनाउन सकिएमा आरक्षणको अपेक्षित लक्ष्य हासिल हुन सक्छ । यसर्थ वर्तमान आरक्षण नीतिलाई केही संशोधन, सुधार र परिमार्जन गर्दै यसलाई अझै वस्तुनिष्ठ र उपयोगी बनाउन सकिन्छ ।
(दाहाल नेपाल सरकारका शाखा अधिकृत हुन्)








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
रत्न बागचन्दको न्यायालयमा ऐतिहासिक छलाङ