नेपालको अन्तरिम संविधान २०६३ जारी भएपछि निजामती ऐन, २०४९ को दोस्रो संशोधन २०६४ अनुसार निजामती सेवामा आरक्षणको व्यवस्था गरियो । आरक्षणको प्रावधान निजामती सेवालगायत सेना, प्रहरी, शिक्षक तथा अन्य सार्वजनिक सेवामा कुनै न कुनै हिसाबले लागु छ । त्यसै गरी नेपालको संविधान २०७२ जारी भएपछि देशमा सङ्घीयता आयो, जस अनुसार स्थानीय र प्रदेश सरकारहरू गठन भए । निजामती सेवा ऐन २०४९ को दोस्रो संशोधनले निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये पैतालिस प्रतिशत पद छुट्याइ सो प्रतिशतलाई शतप्रतिशत मानी विभिन्न छ समूहमा (महिला ३३ प्रतिशत, आदिवासी÷जनजाति २७ प्रतिशत, मधेशी २२ प्रतिशत, दलित नौ प्रतिशत, अपाङ्गता भएका ५ प्रतिशत र पिछिडिएको क्षेत्र चार प्रतिशत) आरक्षणको व्यवस्था गरेको छ ।
राष्ट्रिय समावेशी आयोगले “विद्यमान सरकारी सेवामा आरक्षण प्रभाव अध्ययन प्रतिवेदन २०७९” तयार पारेको थियो । आयोगले आरक्षण लागु भएदेखि २०७८ असार मसान्तसम्म निजामती र स्वास्थ्य सेवामा आरक्षणको प्रभावबारे अध्ययन गरेको थियो, जस अनुसार २०७८ असार मसान्तसम्म खुलातर्फ २५,०२३ जना र आरक्षणतर्फ १४,९५६ जना गरी जम्मा ३९,९७९ जना न्युक्तिका लागि सिफारिस भए । आरक्षणतर्फ सिफारिसमध्ये महिला ५,१६०, आदिवासी÷जनजाति ४,०५७, मधेशी ३,१९९, दलित १,३०८, अपाङ्गता भएका ६९८ र पिछडिएको क्षेत्र ५३४ जना थिए । आयोगले आफ्नो अध्ययनबाट आरक्षणको सकारात्मक तथा नकारात्मक प्रभावको मूल्याङ्कन गरी सरकारलाई विभिन्न सुझाव दिएको थियो
समावेशीमा सार्वजनिक सेवाको पदपूर्ति कम्तीमा ४५ प्रतिशत विभिन्न छ समूहबाट होस् भन्ने नै हो । समावेशी आयोगको प्रतिवेदनले अबको २०९३ सालसम्मा ४५ प्रतिशत जनशक्ति आरक्षणबाट पदपूर्ति भएको हुने छ भनी प्रक्षेपण गरेको छ । त्यसपछि आरक्षण हटाउनु पर्छ भनी सुझाव दिएको छ । आरक्षणको पक्षधरले आरक्षण व्यवस्थाले विगतमा भएको आरक्षित समूहसँगको विभेद बिस्तारै हट्दै गएको र उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउन सहयोग गरिरहेकाले हटाउन नहुने भनिरहेका छन् । विपक्षमा हुनेहरूले आरक्षण व्यवस्थाले योग्यता प्रणालीलाई कमजोर बनाएको, आरक्षण समूहमा नपर्नेहरूमा व्यापक असन्तुष्टि पैदा गरेको र भविष्यमा यसले द्वन्द्वको स्थिति पैदा गर्ने भएकाले जतिसक्दो चाँडो हटाउनुपर्ने भनिरहेका छन् ।
यथार्थमा आरक्षण व्यवस्थाले आरक्षित समूहसँग पनि सकारात्मक विभेद गरेको देखिन्छ । जस्तै– एउटा मधेशी आरक्षण समूहमा पर्ने व्यक्तिले मानौँ एक सय सिटको विज्ञापनमा उसले जम्माजम्मी खुलाको ५५ सिट र आरक्षणको ४५ सिटको २२ प्रतिशतले १० सिट गरी जम्मा ६५ सिटमा प्रतिस्पर्धा गर्न पाउँछ । बाँकी ३५ सिटमा त उसले पनि प्रतिस्पर्धा गर्न नै पाउँदैन । यसरी सकारात्मक विभेद त आरक्षित समूहसँग पनि भएको देखिन्छ; खाली उसले ४५ प्रतिशतको आरक्षित प्रतिशत सिटमा अरूसँग प्रतिस्पर्धा गर्नु पर्दैन ।
खुला र विभिन्न आरक्षित समूहबाट सिफारिस हुनेहरूले लोक सेवा आयोगले लिएको परीक्षामा प्राप्त गर्ने अङ्कको फरक उल्लेखनीय रहेकाले यसले योग्यता प्रणालीलाई कमजोर बनाएको कुरा बारम्बार उठ्ने गरेको छ । यसको सामधानका लागि कुनै नतिजामा खुलातर्फ सिफारिस हुनेले प्राप्त गरेको अङ्कलाई विश्लेषण गरी आरक्षित समूहमा सिफारिस हुनलाई कम्तीमा कति अङ्क ल्याउनुपर्ने हो, त्यसको निश्चित आधार तयार गर्दा पनि हुन्छ । लोक सेवाको परीक्षामा पहिलो हुने उम्मेदवार दोस्रो हुने उम्मेदवारभन्दा सबै दृष्टिकोणले योग्य नै हुन्छ भन्ने हुदैन । त्यस कारण, आरक्षित समूहमा सिफारिस हुन कम्तीमा कति अङ्क ल्याउनुपर्ने (जस्तैः खुलामा अन्तिम स्थानमा सिफारिस हुनेभन्दा कम्तीमा ८० प्रतिशत) प्रावधान राखिएमा आरक्षणले योग्यता प्रणालीमा असर पार्दैन ।
प्रतिवेदनमा महिला साथै अन्य समूहका पनि खुलामा सिफारिस भएको विवरण उल्लेख गरेको छ । यसरी आरक्षण र खुला दुवैतर्फ सिफारिस हुँदा खुलामा खास गरी खस÷आर्यको प्रतिस्पर्धाको दायरा खुम्चिँदै गएको देखिन्छ । यसको लागि कि त खुलामा निश्चित प्रतिशत खस÷आर्यका लागि वा उनीहरूलाई पनि आरक्षित समूहमा केही प्रतिशत छुट्याउँदा उपयुक्त हुन्छ ।
आरक्षण किन चाहियो भन्ने कुरा पनि उठ्ने गरेको छ । आरक्षण व्यवस्था लागु हुनुभन्दा पहिले सार्वजनिक सेवामा आरक्षण समूहमा पर्नेहरूको उपस्थिति एकदमै न्यून थियो । उनीहरूले पढेनन् अथवा योग्यता पुगेन भन्ने कुरा आउन सक्छ तर देशको जनसङ्ख्यामा उल्लेखनीय हिस्सा रहेको समूहबाट सार्वजनिक सेवामा जानै नचाहने अथवा योग्यता पुगेन भन्न कसरी मिल्छ ? उनीहरूसँग विगतमा विभेद भएन भनी कसरी नकार्न सकिन्छ ? फेरि, सार्वजनिक सेवा भनेकै जनताको सेवा गर्ने हो, जहाँ विभिन्न जातजाति, समुदाय र संस्कृति भएकासँग समन्वय गरेर जानु पर्छ । एउटा सरकारी कार्यालय छ, जसले जनजाति समुदाय बाहुल्य रहेको क्षेत्रमा काम गर्नुछ भने विभिन्न दृष्टिकोणबाट त्यहाँ उल्लेखनीय सङ्ख्यामा जनजाति कर्मचारी भएमा कार्यालयको काम प्रभावकारी हुन सक्छ ।
अहिलेको स्थितिमा जिल्ला प्रशासन कार्यालयले आरक्षित समूहमा पर्ने भए सो समूह खुलाएर सिफारिस गर्ने प्रावधान छ । उक्त समूहमा पर्ने÷नपर्ने उसको थरबाट प्रायः पहिचान गरिन्छ । थर ढाँटेर, फेरेर र झुक्याएर कतिपयले आरक्षणको फाइदा लिने गरेको प्रतिवेदनमा उल्लेख छ । विशेष गरी कतिपय महिलाले विवाह अघि र पछिको थर आरक्षणको सुविधा प्राप्त गर्ने किसिमले राख्ने गरेको पाइन्छ । थर ढाँटेको÷छलेको प्रमाणित भएमा निःसर्त सार्वजनिक सेवाबाट बर्खास्त र कानुनी कारबाहीको भागीदार हुने भन्ने स्वःघोषणा गर्न लगाउन उपयुक्त हुन्छ । थर समूहको पहिचान वैज्ञानिक रूपमा गर्नु पर्छ । त्यस्तै अपाङ्गता भएका समूह र पिछडिएको समूहमा नपाउनु पर्नेले सुविधा पाएको तथ्य प्रतिवेदनले उल्लेख गरेको छ र सोको सामाधान पनि त्यहाँ दिइएको सुझाव अनुसार नै गर्नु पर्छ ।
विभिन्न छ समूहमा पर्न आर्थिक तथा सामाजिक रूपमा विपन्न हुनुपर्ने भन्ने ऐनमा उल्लेख छ तर त्यो विपन्न कसलाई मान्ने भन्ने स्पष्ट छैन । खासमा आरक्षण समुदायका लागि हो । धनी गरिबका लागि होइन । आरक्षित समूहमा सम्भ्रान्त वर्गले मात्र आरक्षणको सुविधा पटक पटक लिइरहेको भनिन्छ । प्रतिवेदनमा मधेशीमा यादव, साह, चौधरी र महतो ५०.६४ प्रतिशत, आदिवासी÷जनजातिमा चौधरी, श्रेष्ठ र राई ३८.९२ प्रतिशत, दलितमा बिक, नेपाली र विश्वकर्मा ३७.४७ प्रतिशत र पिछडिएको क्षेत्रमा जोशी, बुढा, शाह, उपाध्याय र थापा २७.३४ प्रतिशत रहेको उल्लेख छ । यसले आरक्षणमा केही थरहरूको मात्र वर्चस्व रहेको देखिन्छ । यद्यपि सामाजिक तथा आर्थिक रूपमा विपन्नलाई आरक्षणमा ल्याउँदा योग्यता प्रणालीलाई कमजोर बनाउन चाहिँ मिल्दैन । पहिलो, आर्थिक तथा सामाजिक रूपले विपन्नकोे किटान हुनु पर्छ । दोस्रो, उनीहरूलाई सम्भ्रान्त भनिएका वर्गसँग प्रतिष्पर्धा गर्न सक्ने किसिमका सबलीकरणका कार्यव्रmम ल्याउनु पर्छ । प्रतिवेदनमा सुझाए जस्तै विपन्न वर्ग लक्षित लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्नु पर्छ । सेवा आयोगको दरखास्त दस्तुर निःशुल्क गर्ने, शिक्षामा विशेष व्यवस्था गर्ने र राष्ट्रसेवामा आउन उत्प्रेरित गर्नेलगायतका सबलीकरणका कार्यव्रmम हुन सक्छन् । केही थरहरूको मात्र आरक्षणमा सिफारिस हुने तथ्यलाई विश्लेषण गरी उचित सकारात्मक विभेदको नीति अपनाउनु पर्छ । मधेश प्रदेशले बनाएको निजामती ऐनमा सम्पूर्ण सिटको ४९ प्रतिशत पद आरक्षणका लागि छुट्याइ मधेशी ५४ प्रतिशत, दलित १७ प्रतिशत, आदिवासी÷जनजाति छ प्रतिशत, थारू पाँच प्रतिशत र प्रत्येक समूहबाट महिलालाई ५० प्रतिशत आरक्षण दिने व्यवस्था छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको निजामती ऐनमा ४५ प्रतिशत पद आरक्षणका लागि छुट्याइ महिला ३३ प्रतिशत, दलित १४ प्रतिशत, राना थारू १३ प्रतिशत, आर्थिक रूपले विपन्न खस आर्य ११ प्रतिशत, आदिवासी÷जनजाति १० प्रतिशत र त्यस्तै र प्रत्येक समूहबाट ५० प्रतिशत महिलालाई आरक्षण दिने व्यवस्था छ । कर्णाली प्रदेशले बनाएको निजामती ऐनमा ४५ प्रतिशत आरक्षणका लागि छुट्याइ खस आर्य ४५ प्रतिशत, दलित २२ प्रतिशत, आदिवासी÷जनजाति १२ प्रतिशत, पिछडिएको क्षेत्र १२ प्रतिशत र प्रत्येक समूहबाट महिलालाई ३३ प्रतिशत छुट्याउने व्यवस्था छ ।
माथिका तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशहरूले त्यहाँको जनसङ्ख्याको प्रतिशतको आधारमा आरक्षण समूहमा प्रतिशत छुट्याएको देखिन्छ । यसले एउटा प्रदेशको उम्मेदवार अर्को प्रदेशको आरक्षण समूहमा नपर्ने सम्भावना रहन्छ । त्यस कारण सङ्घ र प्रदेशको निजामती सेवामा आरक्षणको प्रावधान एउटै हुनु जरुरी छ । ऐनमा प्रत्येक १० वर्षमा आरक्षणको पुनरवलोकन गर्ने भनिएको छ, जुन हालसम्म भएको छैन, त्यो हुनु पर्छ । अहिलेसम्मको विभिन्न सार्वजनिक सेवामा खुला तथा आरक्षण समूहमा सिफारिस हुनेहरूको तथ्याङ्कलाई विविध पक्षबाट विश्लेषण गरी आरक्षण कति प्रतिशत दिने हो ? कुन कुन समूह समावेश गर्ने हो ? प्रत्येक समूहलाई कति–कति प्रतिशत दिने हो ? निर्धारण गर्नु पर्छ । एक पटक आरक्षण समूहबाट सेवा प्रवेश गरेपछि पटक पटक आरक्षणको सुविधा लिन दिनु न्यायसङ्गत हुँदैन । महिलालाई छुटै आरक्षण समूह नबनाई प्रत्येक समूहबाट ५० प्रतिशत सिट दिने प्रावधान ल्याउनु आवश्यक छ, जसबाट सबै समुदायका महिलाका लागि अवसर बन्छ ।
३० असार २०८१ मा गोरखापत्र अनलाइनमा प्रकाशित सिवेसकुमार सिंहको विचार








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
रत्न बागचन्दको न्यायालयमा ऐतिहासिक छलाङ