सुकुम्बासी पुनर्स्थापनाको प्रगति सार्वजनिक गर्न सरकारसँग सांसद थपलियाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका नदी किनारलगायत विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी परिवारको पुनर्स्थापनाबारे सरकारले स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने माग गरेकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बस्ती हटाएपछि कति परिवारको पहिचान गरिएको छ, कति परिवारलाई स्थायी आवासको व्यवस्था गरिएको छ र बाँकीलाई कहिलेसम्म पुनर्स्थापना गरिने हो भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताइन्।

थपलियाले नागरिकका आधारभूत समस्या समाधानमा सरकार प्रभावकारी बन्न नसकेको टिप्पणी गरिन्। मन्त्रीहरूबाट ‘खुट्टा भाँच्ने’ र ‘पाता फर्काउने’ जस्ता अभिव्यक्ति आइरहे पनि सर्वसाधारण भने रित्तो ग्यास सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य रहेको उनको भनाइ थियो।

उनका अनुसार २०८३ वैशाख १३ गते राजधानीका नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर घरटहरा हटाइएको थियो भने केही परिवारलाई होल्डिङ सेन्टरमा राखिएको थियो। विस्थापनपछि विभिन्न कारणले १० जना सुकुम्बासीको मृत्यु भएको सुकुम्बासी मोर्चाको दाबी रहे पनि त्यसबारे सरकारले आधिकारिक तथ्यांक सार्वजनिक नगरेको उनले बताइन्।

बस्ती हटाउनु मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै थपलियाले वास्तविक सुकुम्बासीको पहिचान गरी सम्मानपूर्वक स्थायी आवास र आवश्यक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।

उनले पुराना राजनीतिक दलका कमजोरीमाथि प्रश्न उठाउन सकिने भए पनि गालीगलौजबाट मात्रै नयाँ राजनीतिक मान्यता स्थापित नहुने बताइन्। नयाँ राजनीतिक संस्कार निर्माणका लागि आलोचनालाई स्वीकार गर्दै त्यसबाट सुधारतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ