काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवनानुभवलाई अभिलेखीकरण गरी नयाँ पुस्तासम्म पुर्याउन ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले डिजिटल प्रविधिको प्रयोगमार्फत ज्येष्ठ नागरिकका अनुभव संरक्षण र पुस्तान्तरण गर्ने अवधारणा अघि सारेको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवनका सिकाइ राष्ट्रको महत्वपूर्ण बौद्धिक तथा सामाजिक सम्पत्ति भएको बताउनुभएको छ।
उहाँका अनुसार अनुभव बैंकमार्फत कृषि, उद्यम, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान तथा व्यावहारिक जीवनसँग सम्बन्धित अनुभवलाई व्यवस्थित रूपमा अभिलेख गरिनेछ।
मन्त्रालयले अनुभव बैंकलाई विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ज्येष्ठ नागरिकबाट ज्ञान र मार्गदर्शन लिन सक्ने डिजिटल माध्यमका रूपमा विकास गर्ने तयारी गरेको छ। यसबाट दशकौँको अभ्यासबाट आर्जित ज्ञान एक पुस्तासँगै हराएर नजाने र अर्को पुस्ताका लागि उपयोगी बन्ने अपेक्षा गरिएको छ।
मन्त्री बादीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा र हेरचाहका लाभग्राहीका रूपमा मात्र नभई ज्ञानदाता र समाजका अनुभवी साझेदारका रूपमा हेर्नुपर्ने बताउनुभएको छ।
बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ र शहरीकरणसँगै ज्येष्ठ नागरिकमा देखिएका स्वास्थ्य, एक्लोपन, हेरचाह तथा सामाजिक सहभागिताका चुनौतीलाई सम्बोधन गर्दै उनीहरूको जीवन सुरक्षित, सम्मानित र अर्थपूर्ण बनाउन परिवार, समुदाय र राज्यको साझा भूमिका आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ले ज्येष्ठ नागरिकको सम्मानलाई हेरचाह र संरक्षणमा मात्र सीमित नराखी उनीहरूको जीवनभरको ज्ञान र अनुभवलाई संरक्षण तथा पुस्तान्तरण गर्ने आधार तयार गर्नेछ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
ज्येष्ठ नागरिकको अनुभव अभिलेख गर्न ‘अनुभव बैंक’ बनाउँदै सरकार
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको खोजी, सात दिनभित्र विवरण बुझाउन निर्देशन