‘कथा घेरा’ को ‘बाटैबाटो’ ले देखाएको महिलाको कथा

समताखबर डेस्क। सडकको बीचमा बाजा बज्छ। गीत सुरु हुन्छ। सुन्तला र खैरो पोसाकमा सजिएका आठ कलाकार अभिनयमा उत्रिन्छन्। केहीबेरमै  सडक दर्शकले भरिन्छ।

सडक रंगमञ्चमा बदलिएको छ। तर कलाकारहरूले सुनाइरहेको कथा मनोरञ्जनको मात्रै होइन—महिलाको अदृश्य श्रम, सामाजिक बन्धन र अवसरको अभावको कथा हो।

कथा घेराको घुम्ती सडक नाटक ‘बाटैबाटो’ अहिले यही कथा बोकेर सुदूरपश्चिम र कर्णालीका बस्तीमा पुगिरहेको छ।

महिलाले घरमा गर्ने कामलाई हाम्रो समाजले प्रायः ‘जिम्मेवारी’का रूपमा लिन्छ। बिहानदेखि बेलुकासम्म खाना पकाउने, बालबालिका र परिवारको हेरचाह गर्ने, घरधन्दा र खेतबारीको काम गर्ने—यी सबै श्रम हुन् भन्ने स्वीकारोक्ति भने कमजोर छ।

उनीहरूले गरेको कामको आर्थिक मूल्य देखिँदैन।

तर जब त्यही महिला आफ्नो सीप प्रयोग गरेर आम्दानी गर्न खोज्छिन्, घरबाहिर काम गर्न निस्कन्छिन् वा आफ्नै उद्यम सुरु गर्ने प्रयास गर्छिन्, त्यतिबेला प्रश्नको घेरा सुरु हुन्छ।

घर कसले हेर्छ ? परिवारलाई समय कसले दिन्छ ? महिलाले बाहिर गएर काम गर्ने ?

‘बाटैबाटो’ले यही विरोधाभासलाई कथाको केन्द्रमा राखेको छ।

नाटकमा केही गर्न चाहने तर परिवार र समाजको साथ नपाएका महिलाका कथा छन्। उनीहरूको सीप, सपना, संघर्ष र आर्थिक रूपमा आत्मनिर्भर बन्ने चाहनालाई गीत, संगीत, नृत्य र अभिनयमार्फत सडकमा प्रस्तुत गरिएको छ।

कथा घेराकी परियोजना प्रमुख तथा निर्देशक आकांक्षा कार्कीका अनुसार महिलालाई पछाडि पार्ने मुख्य कारण उनीहरूको क्षमता नभई अवसरको अभाव हो।

‘महिलाको हातमा सीप बस्यो भने त्यसको लाभ परिवार हुँदै समाजसम्म पुग्छ,’ कार्की भन्छिन्, ‘महिलाले गर्न नसक्ने केही छैन। समान अवसर नपाएका कारण मात्र धेरै महिला पछाडि परेका हुन्।’

नाटकले महिलाको आर्थिक स्वायत्ततालाई केवल व्यक्तिगत स्वतन्त्रताको विषय मानेको छैन। महिलाले कमाउन पाउने, आफ्नो श्रमको मूल्य पाउने र आफ्नो निर्णयमा सहभागी हुन पाउने अवस्था परिवार र समाजकै विकाससँग जोडिएको सन्देश यसले दिन्छ।

तर त्यसका लागि महिलाले मात्रै परिवर्तन हुनुपर्ने होइन।

 

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ